गोहीले आक्रमण गर्दा एक जनाको ज्यान गयो



चितवन,जेठ २४ । राप्ती नदी किनारमा एकजना व्यक्तिको गोहीले आक्रमण गर्दा ज्यान गएको छ।सोमबार बिहान भरतपुर महानगरपालिका–२४ ध्रुवघाट क्षेत्रमा गोहीको आक्रमणमा परेर भरतपुर–२५ बसकट्टाका ३५ वर्षीय छन्नुराम बोटेको मृत्यु भएको चितवन निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए ।

उनी माछा मार्नका लागि उज्यालो नहुँदै खोलामा गएको पत्ता लागेको अधिकारीले बताए । निकुञ्ज भएर बग्ने कुनै पनि खोलामा यो बेला माछा मार्न पाइदैन । ‘हामीले बुझ्दा उनी राति नै माछा मार्न गएको पत्ता लागेको छ । शरीरको दाग र अन्य घाउ चोटले उनी मगर गोहीको आक्रमणमा परेको देखिन्छ,’ उनले भने ।

निकुञ्जबाट अनुमतिपत्र नलिएकाहरुले सिमाना भएर बग्ने खोला र नदीमा माछा मार्न पाउँदैनन् । अनुमति लिएकाहरुलाई पनि चैत्रपछि असारसम्म माछा मार्न बन्देज छ । यी तीन महिना माछाको प्रजनन् र भुरा हुर्काउने समय भएका कारण माछा मार्न सबैलाई रोक लाग्ने गरेको उनले बताए । यो नियम पालना गर्न र निषेधाज्ञा लागेको समयमा अनावश्यक र अनधिकृत रुपमा निकुञ्ज र नदी तथा खोलामा नजान निकुञ्जले अपिल गरेको छ । तर अटेर गरेर जंगल जाने र माछा मार्ने क्रम बढेको छ । च्याउ टिप्न निकुञ्ज गएका बेला वैशाख ३० मा जंगली हात्तीले एकजनाको ज्यान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्