राप्रपाले मेलम्ची स्वास्थ्य केन्द्रलाई ३० लाखको अक्सिजन उत्पादन मेसिन सहयोग गर्यो



सिन्धुपाल्चोक,जेठ २३ । राष्ट्रिय प्रजातन्त्र पार्टीले मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रलाई करिब ३० लाख रुपैयाँ लागत पर्ने अक्सिजन उत्पादन मेसिन सहयोग गरेको छ । जिल्ला अध्यक्ष गोपाल श्रेष्ठ, केन्द्रीय सदस्यहरुको उपस्थितिमा आज स्वास्थ्य केन्द्रलाई नोबुलाइजरसहितको मेसिन हस्तान्तरण गरिएको हो ।

पार्टीका केन्द्रीय अध्यक्ष पशुपति शमसेर जबराभने भर्चुअल रुपमा उपस्थित थिए । जुम बैठकबाटै उनले हस्तान्तरण कार्यक्रममा सम्बोधन गरेका थिए । मेसिन स्वास्थ्य केन्द्रका प्रमुख डा.आशिष श्रेष्ठ लाई हस्तान्तरण गरिएको राप्रपा सिन्धुपाल्चोकले जनाएको छ ।

जुम मिटिङमा बोल्दै अध्यक्ष जबराले सिन्धुपाल्चोकको हरेक पालिकामा सकेको सहयोग गर्ने बताए। चाइना फाउण्डेसन फर पिस एण्ड डेभलपमेन्टको सौजन्यमा ल्याइएको उपकरणले रोगको उपचारमा सघाउ पुग्ने आशा लिएको अध्यक्ष राणाले जुम बैठकमार्फत सुनाए ।प्राकृतिक अक्सिजनलाई यस मेसिनले ग्रहण गर्नेछ ।

मेसिनले एकै पटकमा ८ जनालाई अक्सिजन दिन सकिन्छ । कोरोनाको दोस्रो लहर भयानक रुपमा बढेपछि उपचारमा उपकरण सहयोग गरि जनतालाई जोगाउनका लागि मेसिन हस्तान्तरण गरिएको हो ।कोरोनाले दिनानुदिन समुदायमा फैलिएर मानिसको ज्यान गइरहेको यो बिषम परिस्थितिमा उक्त मेसिनले धेरै राहात पुग्ने डा. आशिष श्रेष्ठले बिश्वास ब्यक्त गरे ।

यस मेसिनले अक्सिजन उत्पादन गर्ने भएकाले बिरामीको लागी भेन्टिलेटरको समेत काम गर्ने उनले बताए । विभिन्न प्रकोप तथा महामारीमा जनतालाई लागि अनेकौं प्याकेज सहयोग गर्ने गरेको राप्रपाले ठूलो मात्राको उपकरण सहयोग गरि कोरोना नियन्त्रणमा ऐक्यवद्धता जनाएको हो ।

राप्रपा सिन्धुपाल्चोकले कोभिड १९ बाट सुरक्षित रहनको लागि जिल्लाका बिभिन्न ठाउँमा स्वास्थ्य सामाग्री बितरण गरिरहेको छ । विभिनन स्वास्थ्य केन्द्रमा अक्सिजनको सिलिन्डरलगायत अन्य स्वास्थ्य सामग्री सहयोग गरिएको जिल्ला अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिए ।

आइतबार हस्तान्तरण गरिएको उपकरणले विद्युत हुँदा २४ घण्टा सेवा प्रदान गर्न सक्नेछ । यदि विद्युत आपुर्ती नभएको अवस्थामा ३ घण्टा हाइड्रोजन र अक्सिजन उत्पादन गर्न सक्छ । यसरी उत्पादन भएको अक्सिजन तत्काल बिरामीलाई दिन सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्