एन्जिलिना शिवशक्ति ट्रष्टद्वारा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई सहयोग
नुवाकोट,जेठ २२ । एन्जिलिना शिवशक्ति ट्रष्टले नुवाकोटका अस्पताल र स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री सहयोग गरेको छ ।
बोधिसत्व विहारसँगको सहकार्यमा नुवाकोटका विभिन्न स्वास्थ्य केन्द्रलाई ६५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग स्वरुप उपलब्ध गराएको ट्रष्टका अध्यक्ष शिव अधिकारी ‘अविरल’ले बताए ।
ट्रष्टले नुवाकोटको तारकेश्वर गाउँपालिकामा ५ थान, विदुर नगरपालिकाको त्रिशुली अस्पतालमा ३ थान, बेल्कोटगढी नगरपलिकामा ३ थान, मेघाङ र किस्पाङ गाउँपालिकामा २/२ थान र ककनी र सूर्यगढी गाउँपालिकामा १/१ थान गरी १७ थान अक्सिजन कन्सन्ट्रेटरसहित विभिन्न औषधि र स्वास्थ्य सामग्री प्रदान गरेको उनले जानकारी दिए ।
यस्तै ट्रष्टले बेल्कोटगढीका १२ वटा स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामग्री र औषधि उपलब्ध गराएको छ भने तादी गाँउपालिकाको स्वास्थ्य केन्द्रलाई पनि अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
त्रिशूली अस्पतालमा नुवाकोट, रसुवा र धादिङ जिल्लाका कोरोना संक्रमितको उपचार भइरहेको छ । अक्सिजन कन्सन्ट्रेटरले कोरोना संक्रमितका उपचारका लागि ठूलो सहयोग पुर्याउने अस्पताल प्रशासनले जनाएको छ ।