देउखुरीमा लुम्बिनी प्रदेशसभा हल निर्माण सुरु



दाङ,जेठ १४ । जिल्लाको देउखुरीमा लुम्बिनी प्रदेश सभा बैठक सञ्चालनकालागि प्रदेश सभाहल निर्माणको काम सुरु भएको छ । ५ करोड २१ लाखको लागतमा सुविधा सम्पन्न प्रदेशसभाहल निर्माणको काम सुरु भएको लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ध्रुव मजगैयाँले जानकारी दिए ।

कोरोना महामारी नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञामा पनि स्थानीय कामदारहरुले आवासीय रुपमा बसेर निर्माणको कामलाई निरन्तरता दिइरहेका अधिकृत मजगैयाँले बताए । एक सय जना मानिस सजिलै अटाउन सक्ने सभाहल, सभामुखको लबी, स्टेज सबै यसैभित्र निर्माण गर्ने गरी काम भइरहेको छ ।

चालु आर्थिक वर्षभित्र प्रदेश सभाहल निर्माणको काम सक्ने लक्ष्य छ । तर, निषेधाज्ञाका कारण निर्धारित समयमा सभाहल निर्माणको काम सम्पन्न गर्न कठिनाइ हुने भएको छ ।‘ असारसम्म सक्ने योजना हो । समय परिस्थितिअनुसार निर्धारित समयमा काम सुरु गर्न सकिएन’ मजगैयाँले भने, ‘असोजसम्ममा सबै काम सकिन्छ की भन्ने लागेको छ ।’

नेपाल सरकारले लुम्बिनी प्रदेश सरकार मातहतमा राप्ती प्राविधिक शिक्षालय रहने निर्णय गरेपछि सभाहल निर्माणको काम सुरु भएको हो । राप्ती प्राविधिक शिक्षालयभित्र रहेको सभाहल सानो भएपछि नयाँ सभाहल आवश्यक परेको हो ।

राजधानीको गुरुयोजनाले राप्ती गाउँपालिका, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, शितगंगा नगरपालिका अर्घाखाँचीको वडा नम्बर ८ र ९ लाई समेटने छ । प्रशासनिकय केन्द्र, शहर, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य, खेलकुद लगायत सबै प्रकारको क्षेत्र तोक्ने र सोही अनुसार डिजाइन बनाइने छ ।

प्रतिक्रिया दिनुहोस्