शेयरबजारमा ऐतिहासिक रेकर्ड
काठमाडौं,जेठ ५ । मंगलवार नेपालको शेयरबजारमा कारोबार रकमले ऐतिहासिक रेकर्ड कायम गरेको छ । यस दिन रू. ११ अर्ब ३५ करोड ९३ लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ । यस अघि गत माघ २६ गते रू. १० अर्ब ६१ करोड ९१ लाख ६३ हजार बराबरको शेयर कारोबार भएको थियो । उक्त दिनको कारोबार रकमको ऐतिहासिक रेकर्डलाई मंगलवारको कारोबारले तोडेको हो ।
कोभिडका कारण अन्य व्यावसायिक क्षेत्रहरू प्रभावित भइरहँदा त्यस क्षेत्रका व्यवसायीहरूले शेयरबजारमा लगानी बढाएकाले कारोबार रकम बढेको ब्रोकरहरू बताउँछन् ।
विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारण अन्य देशमा पनि शेयरबजारले गति लिइरहेकाले विदेशमा बस्ने नेपालीहरूले पनि बजार बढ्ने अपेक्षासहित लगानी गरिरहेको ब्रोकरहरूको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर नबढ्नु र तरलता बढ्ने सम्भावना देखिनुले पनि पूँजी बजारमा सकारात्मक प्रभाव परेको विश्लेषण जानकारहरूको रहेको छ ।
मंगलवार २१५ कम्पनीको १ लाख १५ हजार ९६१ पटकको व्यापारमा २ करोड ३१ लाख ३१ हजार ६१५ कित्ता शेयर कारोबार भएको छ । कुल कारोबार रकममा सर्वाधिक अंश नेपाल पुनर्बीमा कम्पनीले ओगटेको छ । नेपाल पुनर्बीमा कम्पनीको मंगलवार रू. ६७ करोड ९२ लाख ९९ हजार बराबरको शेयर कारोबार भएको छ । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य पनि यो दिन प्रतिकित्ता रू. ५० ले बढेको छ । न्यूनतम रू. १ हजार ६४४ देखि अधिकतम रू. १ हजार ७०७ सम्म पुगेको कम्पनीको शेयरमूल्य अन्तिममा रू. १ हजार ६९३ कायम भएको छ ।
मंगलवारको बजारमा होटेल तथा पर्यटन समूहका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कोभिडको कारण वित्तीय अवस्था नोक्सानीमा रहेका होटेल समूहका कम्पनीको शेयरमूल्य पनि यो दिन सर्किट लेभलमा बढेको छ ।
कम मूल्य भएका शेयरप्रति लगानीकर्ता आकर्षित भएकाले लामो समयदेखि घटेको होटेल समूहका कम्पनीको शेयरमूल्य यो दिन सर्किट लेभलमा बढेको हो ।
मंगलवार होटेल तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ६ दशमलव १५ प्रतिशत बढेको छ । यस दिन ओरियण्टल होटेल र सोल्टी होटलको शेयरमूल्य १० प्रतिशत र तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ९ दशमलव ९७ प्रतिशत बढेको छ ।
यो दिन वित्तसमूहको ५ दशमलव ८६ प्रतिशत, जलविद्युत्को ३ दशमलव ४९ प्रतिशत र विकास बैंकको ३ दशमलव ३३ प्रतिशत परिसूचक बढेको छ । यो दिन लगानी समूहको २ दशमलव ७८ प्रतिशत, व्यापारिकको १ दशमलव ८९ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, जीवन बीमाको १ दशमलव १३ प्रतिशत, अन्यको शून्य दशमलव ७३ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५७ प्रतिशत र म्युचुअल फन्डको शून्य दशमलव ४ प्रतिशत परिसूचक बढेको छ । यो दिन उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने शून्य दशमलव शून्य ९ प्रतिशत घटेको छ ।
मंगलवार नेप्से परिसूचक १ दशमलव २६ प्रतिशत बढेको छ । अघिल्लो कारोबार दिनको तुलनामा ३४ दशमलव ६८ अंक बढेर नेप्से परिसूचक २ हजार ७९३ दशमलव ८९ विन्दुमा पुगेको छ । ठुला कम्पनीहरूको मात्र कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि यो दिन शून्य दशमलव ९४ प्रतिशत अर्थात ४ दशमलव ६४ अंक बढेर ४९७ दशमलव २२ विन्दुमा पुगेको छ ।
मंगलवार ११ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यो दिन सोल्टी र ओरियण्टल होटलसहित नेशनल हाइड्रोपावर, विशाल बजार कम्पनी, वेस्ट फाइनान्स, महिला लघुवित्त, समता घरेलु लघुवित्त, कालिका पावर, घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर र शिवश्री हाइड्रोपावरको शेयरमूल्य १० प्रतिशत बढेको छ । यीबाहेक अन्य २३ कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । यिनमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।आर्थिक अभियानबाट