काठमाडौंसहित २० जिल्ला अति जोखिममा
काठमाडौं, जेठ ४ । कोरोनाविरुद्ध तत्काल १ करोड मात्रा खोप आवश्यक रहे पनि अन्योलता छाएको छ । अनुमानित १ करोड ९० लाख नागरिक खोप लगाउनबाट वञ्चित छन् ।
गत २०७७ फागुन अन्तिम साता दोस्रो प्राथमिकतामा परेर कोरोनाविरुद्धको खोप लगाएका झन्डै १५ लाख नागरिक ‘दोस्रो डोज खोप लगाउन पाउने हो कि होइन?’ भन्ने अन्योलमा छन् । पहिलो लगाएको ८ देखि १२ साताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने विज्ञ बताउँछन् । उनीहरूले कोभिसिल्ड खोप लगाएका हुन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म अनुमानित ३ लाख ८० हजार नागरिकले मात्रै कोरोनाविरुद्धको पहिलो र दोस्रो मात्रा खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा। रोशन पोखरेल तत्काल १ करोड मात्रा खोप आवश्यक रहेको बताउँछन् । तत्काल १ करोड मात्रा खोप आवश्यक रहेकोसमेत उनले औंल्याए ।
‘चीन सरकारबाट २० लाख मात्रा खोप ल्याउने कूटनीतिक पहल भइरहेको छ तर त्यति पर्याप्त भने हुँदैन,’ सोमबार संसद्को शिक्षा तथा स्वास्थ्य समितिसमक्ष उनले भने, ‘१५ जेठभित्रै ज्येष्ठ नागरिकलाई खोप लगाउने भनिए पनि पर्याप्त छैन ।’
५५ वर्षमाथिका ५१ लाख ६४ हजार २ सय ६९ जनालाई खोप लगाउने मन्त्रालयको योजना रहे पनि सो उमेर समूहका अधिकांश वञ्चित छन् ।
सरकारले जेठ तेस्रो सातासम्म चीनबाट भेरोसेल खोप ल्याउने प्रक्रिया अघि बढाए पनि ‘आउने वा नआउने?’ टुंगो लागेको छैन । यसका लागि स्वास्थ्य मन्त्रालय हुँदै परराष्ट्रमार्फत चिनियाँ पक्षलाई पत्राचार गरिएको छ । भारतबाट खरिद गरिएको १० लाख डोज खोपसमेत आउने निश्चित छैन ।
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतमा महामारी नरोकिएकाले खरिद गरिएको खोपसमेत पाउन नसकेको बताउँदै आएका छन् ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।