बर्दियामा अक्सिजन बैंक शुभारम्भ



बर्दिया,जेठ १ । ‘मेरो लागि अक्सिजनमा मेरो योगदान’ भन्दै बर्दियामा अक्सिजन ग्यास बैंक शुभारम्भ गरिएको छ । अक्सिजनको अभाव हुन नदिन र सबै पालिकाका स्वास्थ्य संस्थामा तत्काल अक्सिजन आपूर्ति गर्न सहजीकरण गर्ने उद्देश्यले बैंक खोलिएको अक्सिजन बैंक सञ्चालन समन्वय समितिका संयोजक भेषराज पौडेल बताउनुहुन्छ ।

जिल्ला विपद व्यवस्थापन समितिको समन्वय, बर्दियाका उद्योगी, व्यापारी, विभिन्न संघसंस्था र समाजसेवीहरूको सक्रियतामा बर्दिया प्रशासन भित्र अक्सिजन बैंक स्थापना गरिएको छ ।

बर्दियामा कोभिडबाट ५३ जनाभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने सक्रिय संक्रमितको संख्या १७ सयको हाराहारीमा छन् । भारतसँगको खुला सीमबाट लुकिछिपी नागरिकहरू आउँदा जिल्लामा सक्रिय संक्रमित बढ्दै गइरहेको छ । समुदाय स्तरमा कोभिड तीव्र रूपमा फैलँदा उपचारमा समेत चुैनौती देखिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारको भनाइ छ ।

स्थानीय सरकारले संक्रमितहरूको घर–घरमै पुगेर स्वास्थ्य अवस्था, खानपिन र औषधि उपचारका विषयमा ध्यान दिन नसकेको जनगुनासो छ । खुला सीमाबाट आवत जावतमा थप कडाइ गर्नुका साथै संक्रमितको घरमै गइ स्वास्थ्य अवस्था बुझ्नुपर्ने गुलरिया–६ का सुधान्सु प्रकाश शर्माको सुझाव छ ।

खुला सीमाका कारण बर्दियामा कोभिड संक्रमण चुनौती पूर्ण बन्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस्