बाँकेमा थप पाँच कोरोना संक्रमितको मृत्यु
नेपालगञ्ज,जेठ १ । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ ।
कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा कोरोना भाइरस सङ्क्रमणका कारण ५ महिने गर्भवतीको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका– १ बर्दिया निवासी ३४ वर्षीया गर्भवतीको शनिबार बिहान मृत्यु भएको छ ।
भेरी अस्पतालमै उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१९ निवासी ३९ वर्षीय पुरुष र बनागाड कुपिन्डे नगरपालिका ४ सल्यान निवासी ६० वर्षीया महिलाको मृत्यु भएको छ ।
कोहलपुरस्थित शिक्षण अस्पतालमा कोहलपुर नगरपालिका– ९ निवासी ६१ वर्षीय पुरुष र गुलरिया नगरपालिका–१० बर्दिया निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले जानकारी दिए ।