कोभिड – १९ लाई सामना गर्ने बजेट ल्याउँछौं : अर्थमन्त्री पौडेल



काठमाडौं,जेठ १  । नवनियुक्त अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड – १९ लाई सामना गर्ने गरी आगामी वर्षको बजेट ल्याउने बताएका छन्।  

अर्थ मन्त्रालयमा शुक्रवार पदबहाली पछि कुरा गर्दै अर्थमन्त्री पौडेलले बजेट तयारीको अन्तिम चरणमा रहेको र कोभिड- १९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनर्उत्थान र गतिशिल बनाउने संकल्पकासाथ बजेट ल्याउने बताए । 

उनले कोभिड- १९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै कोभिड- १९ विरुद्धको लडाईंलाई थप सघन र प्रभावकारी बनाउने बताए। 

अर्थमन्त्री पौडेलले कोभिड- १९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
 
पदभारसँगै अर्थमन्त्री पौडेलले अक्सिजन प्लान्ट र पाइप लाइन जडानका लागि डडेल्धुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगञ्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई स्वीकृत गरेका थिए ।  

पदभार ग्रहण गर्नुअघि अर्थमन्त्री पौडेललाई अर्थसचिव शिशिरकुमार ढुङ्गाना, राजस्व सचिव रामशरण पुडासैनी, सहसचिवहरु लगायतले स्वागत गरेका थिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्