माछा मार्ने क्रममा नुवाकोट सूर्यगढीका मिलनको ज्यान गयो
नुवाकोट,वैशाख ३१ । माछा मार्ने क्रममा जिल्लाको सूर्यगढी गाउँपालिका वडा नम्बर १ का मिलन तामाङको ज्यान गएको छ। जिल्लाको तादी गाउँपालिका–५ स्थित तादीखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा बिहीबार राति उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार तादी र दोर्खुखोलाको सङ्गमस्थलमा करेन्ट लगाएर माछा मार्ने क्रममा बिहीबार राति करिब ९ बजेतिर १९ वर्षका तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
प्रहरीका अनुसार उनीसँगै गाडीको ब्याट्री प्रयोग गरेर माछा मार्न गएका अन्य ५ जनालाई प्रहरीले नियन्त्रण लिई कारवाहीका लागि अनुसन्धान सुरु गरेको बताइएको छ ।