नुवाकोटमा थप ४७ जना कोरोना संक्रमित थपिए
नुवाकोट,वैशाख ३१ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कुल ८६ जनाको नमूना पीसीआर र ५ को एन्टिजेन परीक्षणमा २८ पुरुष र १९ जना महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटका सूचना अधिकारी उत्तमराज खनालले बताए।
कार्यालयकाअनुसार सक्रिय संक्रमितको संख्या ६३१ पुगेको छ। जिल्लाभरका अस्पतालमा ५१, स्थानीय तहले निर्माण गरेको क्वारिन्टिनमा ४ जना र ५७६ जना होम आईसोलेसनमा रहेका छन् ।
शुक्रबारको तथ्यांकअनुसार थप सङ्क्रमित हुनेमा विदुर नगरपालिकाका २०, शिवपुरी गाउँपालिकाका २४ र पन्चकन्या, किस्पाङ र तारकेश्वरका १/१ जना छ। योसँगै नुवाकोटमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या १ हजार ९२९ पुगेको छ ।
हाल विदुर नपाका ३३४, बेलकोटगढीका ५७, ककनीका २, सुर्यगढ़ीका १०, लिखुका ३१, शिवपुरीका २७, पन्चकन्याका १५, दुप्चेश्वरका १८, तादीका २४, किस्पाङका ४१, म्यागङका १२ र तारकेश्वरका ५९ जना होमआईसोलेसनमा रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार बैशाख महिनाभित्रमा मात्र ७४७ जना सङ्क्रमित थपिएको छ भने १५० जनाले कोरोना जितेर घर फर्केका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन्।
हाल जिल्लामा २४७ क्वारेन्टाइन बेड रहेको छ।