ओखलढुंगामा चिहान उत्खनन् गर्नेको बिगबिगी
ओखलढुंगा, वैशाख २९ । जिल्लामा चिहान उत्खनन् गर्नेको बिगबिगी बढेको छ । यहाँ केही समयदेखि चिहान खनेर बहुमूल्य सामग्री तथा हड्डीहरु लैजाने गिरोहको बिगबिगी बढेको स्थानीय वासिन्दाहरुले बताएका छन् ।
विशेषगरि त्यस क्षेत्रमा बसोबास गर्दै आएका शेर्पा, राई र तामाङ जातिहरुको पुराना चिहान अज्ञात समूहले खन्ने गरेको पाइएको स्थानीयहरु बताउँछन् । बिशेष गरी जिल्लाका सिद्धिचरण नगरपालिकाका थलाडाँडा, टोड्केडाँडा, देउराली, चिशंखुगढी गाउँपालिकाको केसरीडाँडालगायतका ठाउँमा भएका चिहान उत्खनन् भएको स्थानीयहरु बताउँछन् । गिरोहले स्थानीयले समेत थाहा नपाउने गरेर रातको समय पारेर चिहान उत्खनन् गर्ने गरेको सिद्धिचरण नगरपालिका वडा नं ५ देउरालीका स्थानीय पासाङ शेर्पाले बताए ।
मृत व्यक्तिसँगै चिहानमा सुन, चाँदी तथा बहुमूल्य गरगहनासँगै राखेर अन्त्यष्टि गर्ने चलन ती जातिहरुमा छ । सोही लोभमा पुराना चिहान उत्खनन् हुन थालेको हो । चिहानबाट नलीखुट्टा, टाउकोलगायतका हड्डीहरू समेत हराउने गरेको स्थानीयको भनाई छ ।