एमाले सांसद पशुपति चौलागाईंको कोरोनाबाट निधन
काठमाडौं, बैशाख २९ । नेकपा (एमाले) का नेता, प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री पशुपति चौलागाईंको निधन भएको छ । कोरोना संक्रमण भएका उनको मनमोहन अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको हो ।
चौलागाईं गत निर्वाचनमा दोलखा (ख) बाट वागमती प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । उनी पूर्वमन्त्रीसमेत हुन् ।
नेता चौलागाईँप्रति श्रद्धाञ्जली दिँदै एमाले नेता विष्णु रिजालले लेखेका छन्-“लोकप्रिय नेता, वागमती प्रदेशसभाका सदस्य र भद्र व्यक्तित्व पशुपति चौलागाईंको निधनको खबर पत्याउनै सकिरहेको छैन।अस्पताल जानुअघि हामीले एकअर्कालाई कोभिडबाट छिटो सञ्चो हुन शुभकामना दिएका थियौं !पशुपति दाइ, तपाईंप्रति श्रद्धाञ्जली लेख्नुपर्दा औंला काँपिरहेका छन् । परिवारमा समवेदना !”