निषेधाज्ञा १५ दिन लम्ब्याउने तयारी
काठमाडौं,वैशाख २८। काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थप गर्ने तयारी गरिएको छ । आइतवार र सोमवारको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले निषेधाज्ञा थप गर्ने निष्कर्ष निकालेको छ ।
निषेधाज्ञामा काठमाडौं उपत्यकामा भीडभाड बढेकाले मंगलवार बस्ने उपत्यकाका तीन जिल्लाका प्रजिअहरूको बैठकले कडाइका साथ निषेधाज्ञा थप गर्नुपर्ने निष्कर्ष निकालेको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘हामी कडाइका साथ १५ दिन निषेधाज्ञा थप गर्ने निष्कर्षमा पुगेका छौं,’ उनले भने, ‘अझै केही क्षेत्रमा कडीकडाउ गर्नुपर्छ भन्ने निष्कर्ष निस्किएको छ ।’
उनले भीडभाड हुने क्षेत्र, सार्वजनिक निर्माणका क्षेत्र र जनशक्ति थप गरेर अनावश्यक हिँडडुल गर्नेलाई कारबाही गर्ने गरी निषेधाज्ञा थपिने जानकारी दिए ।
विवाह/व्रतबन्धलगायत क्रियाकलापले संक्रमण बढाएकाले यस्ता क्रियाकलाप रोक्ने छलफल पनि भएको उनको भनाइ छ । ‘यसअघि १५ जनासम्मको सहभागितामा विवाह/व्रतबन्धका कार्यक्रम हुन दिने गरिएकोमा अब यसलाई अझ कसिलो पार्ने भनेका छौं,’ उनले भने । निषेधाज्ञाको आधिकारिक निर्णय भने मंगलवार (आज) बस्ने उपत्यकाका तीन प्रजिअको बैठकले गर्ने जानकारी उनले दिए ।
उपत्यकामा गत वैशाख १६ गतेदेखि १ साताका लागि निषेधाज्ञा लगाइएको थियो । त्यसपछि १ साताका लागि थप गरिएको जारी निषेधाज्ञा वैशाख २९ मा सकिँदै छ ।आर्थिक अभियानबाट