नुवाकोटमा जेठ ३ सम्म निषेधाज्ञा थपियो



नुवाकोट,वैशाख २६ । जिल्लामा आगामी जेठ ३ गतेसम्म निषेधाज्ञाको समय थपिएको छ । जिल्लामा दैनिक ५० जना भन्दा बढीमा कोरोना भाइरस संक्रमण देखिन थालेपछि निषेधाज्ञाको समय एक साता थपिएको हो । वैशाख २१ गतेदेखि कायम गरिएको निषेधाज्ञाको समय भोलि सोमबार सकिदैछ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञामा पनि सडकमा सर्वसाधारणको आवातजावत देखिएको, सवारी साधनहरु निर्वाध रुपमा गुडेको निष्कर्ष निकाल्दै दोस्रो चरणमा थप कडाईं गर्न जिल्ला सुरक्षा समितिलाई अनुरोध समेत गरेको छ ।

प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै संक्रमणको दर उच्च रहेकाले एक साताको लागी निषेधाज्ञा थप गरेको हो । कोभिड १९ जिल्ला संकट ब्यबस्थापन केन्द्रको बैठकले निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो । यस्तै, निषेधाज्ञाको समयमा बजार क्षेत्रमा रहेको चहलपहललाई समेत न्युनिकरण गर्न सुझाब दिएको छ । जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयले समन्वय गरेर बजार क्षेत्र सुनसान बनाउन संकट ब्यबस्थापन केन्द्रले आग्रह गरेको हो ।

थपिएको एक साताको निषेधाज्ञामा भने बजार क्षेत्रमा कडाई गर्न प्रमुख जिल्ला अधिकारी जिवनप्रसाद दुलालले प्रहरीलाई निर्देशन दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्