सिन्धुपाल्चोकका विभिन्न स्थानमा भोलिदेखि निषेधाज्ञा



चौतारा,वैशाख २२ । सिन्धुपाल्चोकका विभिन्न नौ स्थानीय तहमा भोलिदेखी निषेधाज्ञा हुने भएको छ ।

जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका, बाह्रबिसे नगरपालिका, सुनकोसी गाउँपालिका, भोटेकोसी गाउँपालिका, मेलम्ची नगरपालिका, हेलम्बु गाउँपालिका, जुगल गाउँपालिका, लिसंखु पाखर गाउँपालिकाका केही क्षेत्रमा वैशाख २३ देखि वैशाख ३१ सम्म निषेधाज्ञाको तयारी गरिएको हो ।

जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । चौतारा साँगाचोकगढी नगरपालिका, बलेफि गाउँपालिका र भोटेकासी गाउँपालिकाको अरनिको राजमार्ग सिन्धुपाल्चोक खण्डको बन्देउ देखि खाडिचौर बाह्रबिसे हुँदै तातोपानी सम्मको दायाँ बायाँ ५ सय मिटर, सुनकोसी र लिसंखु पाखरको गाउँपालिकाको खाडिचौर देखि ठूलोपाखर हुँदै मुडे सडक खण्डको सिन्धुपाल्चोक जिल्ला भित्र दायाँ बायाँ ५ सय मिटर खण्डमा निषेधाज्ञा जारी गरिएको छ । यस्तै, चौतारा साँगाचोकगढी नगरपालिका बन्देउ देखि चौतारा सदरमुकाम जोड्ने सडकको चौतारा हुँदै स्याउले दायाँ बायाँ ५ सय मिटर, मेलम्ची र हेलम्बुको जिरो किलो हुँदै बाहुनेपाटी सिपाघाट, मेलम्ची सेरा हेलम्बुको किउल सडक खण्डको दायाँ बायाँ ६ सय मिटर निषेधाज्ञा गरिएको छ ।

चौतारा नगरपालिका वडा नम्बर ४, ५ र ९ वडाको सम्पूर्ण क्षेत्र, मेलम्ची ११ का सम्पूर्ण क्षेत्रहरु र बलेफि र जुगलका बलेफि देखि नौबिसे जलविरे ढाडे कात्तिके सडक खण्डको दायाँ बायाँ २ सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

निषेधाज्ञा हुने क्षेत्रमा अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्