संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटको अनुरोध
नुवाकोट,वैशाख २२ । कोरोना महामारीको भयावह संकटका बेला एक भएर अघि बढ्न नेपाली काङ्ग्रेस नुवाकोटले अनुरोध गरेको छ। बुधबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको भर्चुअल बैठकमा सहभागीहरुले कोरोना महामारीको यस घडीमा सबै आम जनसमुदायमा भातृत्वको भावनामा रही एकाअर्कालाई सहयोग गर्नुपर्ने बताए । बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्यहरू, पूर्व सभापति, जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, गाउँपालिका- नगरपालिका पार्टी सभापतिहरू, वरिष्ठ स्वास्थकर्मीहरू, नागरिक समाजका वरिष्ठ ब्यक्तित्वहरू, पत्रकार साथीहरू, सम्पर्क समितिका अध्यक्षहरु, वडा अध्यक्ष लगायतको सहभागिता रहेको नेपाली काङ्ग्रेस जिल्ला सभापति जगदिश्वर नरसिंह केसीले बताए।
बैठकमा कोभिड-१९ बाट उत्पन्न संकट र समाधानका लागि नेपाली कांग्रेसले खेल्नसक्ने भूमिकाका सन्दर्भमा समेत छलफल गरिएको थियोे । माहामारीमा सरकारको अदूरदर्शिता र बेवास्ताका कारण सयौं कोरोना संक्रमितहरुले अकालमा ज्यान गुमाउनु परेको सहभागीहरुले बताए। बैठकले माहामारीबाट आक्रान्त नागरिकको जीउधनको तत्काल सुरक्षा गर्नु सबैको साझा कर्तब्य भएको निश्कर्ष निकालेको छ ।
बैठकको निर्णय अनुसार सबै राजनीतिक दल, नागरिक समाज, उद्योगी, व्यवसायी, पत्रकार, शिक्षक ,राष्ट्रसेवक कर्मचारी , सुरक्षाकर्मी र बिषेश तथा फ्रन्ट लाइनमा रहेर संघर्षरत स्वास्थकर्मीहरुमा थप उच्च मनोबलका साथ लड्न नेपाली कांग्रेस नुवाकोट अपिल गरेको छ । महामारीबाट आक्रान्त नागरिकहरूको जीवनरक्षाका लागि आफ्नो तहबाट सक्दो योगदान पुर्याउनु नेपाली कांग्रेसको राजनीतिक एवं सामाजिक कर्तव्य रहेको बताउदै जिल्ला पार्टी कार्यालयलाई कोविड अस्थायी अस्पताल बनाउने विषयमा समेत जिल्ला कार्यसमितिको बैठकको निम्न निर्णय गरेको उल्लेख छ ।
यस्ता छन् निर्णयहरु:-
१. जिल्लामा कोविड अस्पतालको अभाव हुन नदिन पार्टी अफिसलाई डिसिएमसीले नै अस्थायी कोविड अस्पाताल संचालन गर्ने भए आवश्यक पूर्वाधार तयार गरी तीन महिनाका लागि उपलब्ध गराउने । यस विषयमा प्रमुख जिल्ला अधिकारीलाई सहमति पत्र दिइसकिएको हुँदा प्रजिअ र डिसिएमसीसंग थप छलफल गर्ने । सरकारले सदासयताका साथ सहकार्य गर्न चाहेमा त्यसै गर्ने ।
२. सरकारले प्रयोग नगर्ने भए पार्टी आफैँले अस्थायी आइसोलेसन केन्द्र सञ्चालन गर्ने । यसका लागि अन्य पार्टीका नेता र सरोकारवालाहरूसंग छलफल गरिने ।
३. पार्टी आफैँले गर्ने गरी अनुमति पाएमा हामी सबै मिलेर अघि बढ्ने र सरकारी संयन्त्रसँग समन्वय गरी आइसोलेसन केन्द्र सञ्चालन गर्ने ।
४. पार्टीका सबै तहका नेता, कार्यकर्ताले आ-आफ्नो ठाउँबाट योगदान गर्न र प्राप्त जिम्मेवारी वहन गर्न तयार रहन सबैमा आग्रह गर्ने ।
५. यो प्रारम्भिक बैठक भएकोले थप निर्णय पदाधिकारीहरू र आवश्यक जिम्मेवार नेताहरूसँगको बैठक र छलफलबाट निर्णय लिई सबैलाई जानकारी गराई कार्यान्वयन गर्ने ।