पहिलोपटक भारतबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात
पहिलेको भन्दा ०.३७ भारू सस्तो
काठमाडौं,वैशाख १९। नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक भारतीय ऊर्जा बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात शुरू गरेको छ । प्राधिकरणले शनिवार राति १२ बजेदेखि भारतको खुला बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् आयात गर्न थालेको हो ।
प्राधिकरणले केही समयअघि भारतको ऊर्जा मन्त्रालयबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा प्रवेश गर्न अनुमति दिएको थियो । त्यसपछि आवश्यक प्रक्रिया पूरा गरेर प्राधिकरणले प्रतियुनिट ३ दशमलव ८१ भारतीय रुपैयाँमा २०० देखि २५० मेगावाटसम्म विद्युत् ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत आयात गरेको हो ।
यससँगै भारतीय ऊर्जा एक्सचेन्ज बजारमा विद्युत् व्यापारका लागि प्रवेश गर्ने नेपाल दक्षिण एशियाकै पहिलो राष्ट्र बनेको प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए । पहिलेदेखि नै तयारी गरिएकाले अनुमति पाउनासाथ भारतीय बजारमा प्रवेश गरी विद्युत् खरीद गर्न प्राधिकरण सफल भएको उनको भनाइ छ ।
‘प्राधिकरणले पहिलोपटक भारतीय बजारले निर्धारण गरेको दरमा विद्युत् खरीद गर्दा अहिले आयात गरिरहेको मूल्यभन्दा भारू ३७ पैसा सस्तो परेको छ,’ उनले भने । प्राधिकरणले अहिले भारतबाट ढल्केबर–मुजफ्फपुर अन्तरदेशीय प्रसारणमार्फत आयात गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४ दशमलव १८ भारू छ । प्राधिकरणले अहिले सबैभन्दा धेरै विद्युत् यही प्रसारण लाइनमार्फत आयात गरिरहेको छ ।
प्राधिकरण र भारतीय कम्पनी एनटीपीसी विद्युत् निगम लिमिटेड (एनभीभीएन)बीच ढल्केबर–मुजफ्फपुर प्रसारण लाइनमार्फत जुलाई–नोभेम्बरमा २५० मेगावाटसम्म, डिसेम्बर–अप्रिलमा ३५० मेगावाटसम्म र मे–जुनमा २०० मेगावाटसम्म विद्युत् खरीदविक्री सम्झौता (पीपीए) भएको छ । पीपीएको म्याद ३० जुन २०२१ सम्म छ । पीपीएको उक्त म्याद सकिएपछि थप सम्झौता गर्न आवश्यक पर्दैन । भारतीय एक्सचेन्ज बजारबाट विद्युत् खरीदका लागि प्राधिकरणका तर्फबाट सम्पूर्ण कारोबार भारतीय नोडल कम्पनी एनभीभीएनले गर्नेछ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउनेछ । एक्सचेन्ज बजारमा कारोबार भएको विद्युत्को दैनिक बिल एनभीभीएनले पेश गरेपछि ५ दिनभित्र प्राधिकरणले भुक्तानी पठाउनुपर्ने व्यवस्था रहेको कार्यकारी निर्देशक शाक्यले बताए । ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भई विद्युत् उत्पादन शुरू भएपछि आन्तरिक खपत भएर जगेडा भएको विद्युत् भारतीय बजारमा विक्री गर्ने योजना प्राधिकरणको छ । नेपाल भारतीय ऊर्जा एक्सचेन्ज बजारको सदस्य भएको र प्रवेश पनि पाइसकेकाले विद्युत् विक्रीका लागि पनि थप सहज हुने कार्यकारी निर्देशक शाक्यको भनाइ छ ।
केही समयअघि भारतले अन्तरदेशीय विद्युत् आयात निर्यात कार्यविधि जारी गरेको थियो । त्यसअनुसार अब नेपाल र भारतबीच खुला रूपमा विद्युत् आयात निर्यात गर्न सकिन्छ । सोहीअनुसार नै भारतले अहिले प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको हो । आर्थिक अभियानबाट