‘यस्तो फितलो निषेधाज्ञाको अर्थै छैन’



काठमाडौं, बैशाख १८ । कोरोना रोकथामका लागि सरकारले उपत्यकामा बिहीबारदेखि लागु गरेको लकडाउन फितलो बन्दै गएको छ। प्रहरीले चेकचाँजमा कडाइ नगर्दा र प्रशासनले सबैखाले कार्यालयका परिचयपत्रका आधारमा ओहोरदोहोर गर्न अनुमति दिएपछि सडकमा भीडभाड बढेको हो।

निषेधाज्ञा जारी भएपछि ‘पिक आवर’मा उपत्यकाका मुख्य सडकका चोकमा सवारी जामसमेत हुने गरेको छ। सार्वजनिक सवारीसाधन र पैदलयात्रुलाई कडाइ गरे पनि निजी सवारीसाधन र कार्यालयमा काम गर्ने सबैखाले कर्मचारी ओहोरदोहोर गरेका छन्। गत सोमबार उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीको बैठकले अत्यावश्यक सेवाबाहेक कार्यालय नखुल्ने गरी निषेधाज्ञा जारीको निर्णय गरेको थियो।

तर कुनकुन कार्यालय भनेर नतोकिँदा सबैजसो कर्मचारी ओहोरदोहोर गर्ने गरेका छन्। वित्तीय क्षेत्र खुला हुन पाउने भएपछि बैंकदेखि सहकारी तथा बिमा कम्पनीका कर्मचारीसमेत ओहोरदोहोर गर्ने गरेको प्रहरी नै बताउँछ। कार्यालयको कार्ड देखाएर छाड्नु परेपछि प्रहरी पनि अलमलमा परेको छ। तर, दैनिक ज्याला मजदुरी गर्ने र दिनभरी काम गरेर छाक टार्ने सर्वसाधारणलाई सडकमा हिँडडुल गर्न रोक लगाइएको छ। प्रशासनले जारी गरेको सूचनाको आधारमा कडाइ गरिएको प्रहरीको भनाइ छ।

नेपाल प्रहरीका प्रवक्ता वसन्त कुवँरले सरकारको नियम पालना गरेर प्रहरीलाई सहयोग गर्न आग्रह गरे। उनले प्रशासनले दिएको सूचनाको आधारमा प्रहरीले चेकजाँच गरेको बताए। उनले भने, ‘जस्तोसुकै कार्यालयको परिचय पत्रका आधारमा पनि हिँड्न पाउने भनेर प्रशासनले सूचना जारी गरेको थियो, प्रहरीले पनि सोही सूचनाको आधारमा कडाइ गरेको हो।’ उनले आंशिकभन्दा बढी कार्यालय खुला रहेकाले पनि सडकमा सवारीसाधनको चहलपहल देखिएको जानकारी दिए।

जिल्ला प्रशासनले निषेधाज्ञा सुरु भएदेखि सभा सम्मेलन र मनोरञ्जन क्षेत्र सञ्चालनमा रोक लगाएको छ। तर विवाह र अन्य धार्मिक कार्यक्रममा पनि भीडभाड बढेको पाइएको छ। प्रशासनले विवाह, व्रतबन्ध वा धार्मिक कार्यक्रमको हकमा १५ जनासम्म मात्रै सरिक हुन पाउने भने पनि त्यसको पालना नभएको पाइएको छ।

एम्बुलेन्स, खाद्यान्न, तरकारी, खानेपानी, दूध, औषधि, फलफूल, फोहरमैला, इन्टरनेट, क्वारेन्टिन, आइसोलेसन, वित्तीय संस्था, दूरसञ्चारलगायत अत्यावश्यक सामग्री बोकेका सवारीसाधनलाई रोक लगाइएको छैन। स्वास्थ्यकर्मी, प्रहरी, सञ्चारकर्मी र फ्रन्टलाइनमा खटिनेहरूलाई ओहोरदोहोर गर्न दिइएको छ।

बैंक तथा वित्तीय क्षेत्र पनि खुला छन्। जिल्ला प्रशासन कार्यालय, महानगरपालिका, नगरपालिका, जिल्ला अदालत, वडा कार्यालयलगायत कार्यालय खुला छन्।

यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्