नेपाल राष्ट्र बैंकको ६६औं वार्षिकोत्सव : आर्थिक स्थायित्व कायम गर्न उत्पादनशील क्षेत्रतर्फ थप जोड



काठमाडौं,वैशाख १५। कोभिडको दोस्रो लहरको जोखिम बढेसँगै नेपाल राष्ट्र बैंकले समष्टिगत आर्थिक स्थायित्व कायम गर्न वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोतसाधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, ऊर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ थप जोड दिने भएको छ । केन्द्रीय बैंकको ६६औं वार्षिकोत्सवको अवसरमा मंगलवार गभर्नर महाप्रसाद अधिकारीले कोभिडबाट मुलुक पुनः प्रभावित हुने भएकाले आर्थिक पुनरुत्थानमा थप सहयोग गर्न उक्त क्षेत्रमा थप जोड दिइने बताएका हुन् ।

यससँगै अब केन्द्रीय बैंकले वित्तीय उपकरण एवम् पूर्वाधारहरूको समयसापेक्ष विकास गर्ने भएको छ । ‘विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारहरूलाई प्रवर्द्धन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध छ,’ गभर्नर अधिकारीले भने, ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको असर न्यूनीकरण गरी अर्थतन्त्र पुनरुत्थान गर्ने नेपाल राष्ट्र बैंकको प्रयास भएको छ ।

संक्रमणका बीच जारी गरेको आव २०७७/७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको छ ।’

यससँगै गभर्नर अधिकारीले २०७७ साल चुनौतीपूर्ण रहेको समीक्षा गरे । विशेषगरी होटल तथा रेष्टुराँ, यातायात, खुद्रा तथा थोक व्यापार, उत्पादन क्षेत्र लगायत विविध क्षेत्रमा गम्भीर असर परेको उनले औंल्याए । पछिल्लो समय संक्रमण दर र जोखिम बढ्दै गएकाले अर्थतन्त्र अझै पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनले बताए । उनका अनुसार कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका गैर–परम्परागत, लचिलो एवम् सहजीकरण सहितका नीतिगत व्यवस्थालाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिनेछ  । अहिले दोस्रो लहरको कोभिडको जोखिमबाट अर्थतन्त्रमा पर्न सक्ने प्रभावलाई कम गर्नेतर्फ निरन्तरता दिने उनको भनाइ छ । यसअघि केन्द्रीय बैंकले कोभिड प्रभावितलाई ब्याजमा सहुलियत, भुक्तानी अवधि थपदेखि पुनर्तालिकीकरण तथा पुनःसंरचना लगायत सुविधाको व्यवस्था गरेको थियो ।

साढे ४८ हजार ऋणीले उपयोग गरे पुनर्कर्जाको सुविधा

केन्द्रीय बैंकले कुल १ खर्ब ४२ अर्ब १७ करोड रुपैयाँको पुनर्कर्जा स्वीकृत गरिएको जानकारी दिएको छ । बैंक तथा वित्तीय संस्थामार्फत एकमुष्ट रूपमा र ग्राहक ऋणीअनुसार पुनर्कर्जा प्रदान गर्ने व्यवस्था मिलाइएको थियो, जसअन्तर्गत  एकमुष्ट प्रदान गरिने पुनर्कर्जातर्फ क, ख र ग वर्गका संस्थालाई दुईपटक गरी रू. ९२ अर्ब ३८ करोड स्वीकृत भएको छ । केन्द्रीय बैंकका अनुसार एकमुष्टतर्फ प्रवाह भएको पुनर्कर्जामा बैंक तथा वित्तीय संस्थाले छानेका लघु, घरेलु तथा साना उद्यम पुनर्कर्जातर्फ ३५ हजार ५५४, विशेष पुनर्कर्जातर्फ २ हजार ३३ र साधारण पुनर्कर्जातर्फ १० हजार ९ सय ६३ गरी कुल ४८ हजार ५५० ऋणीमा पुनर्कर्जाको पहुँच पुगेको छ । यसरी प्रवाह भएको पुनर्कर्जा बैंक तथा वित्तीय संस्थाका प्रत्येक शाखाबाट कम्तीमा पाँच ऋणीलाई समेट्नुपर्ने व्यवस्था छ । सोबमोजिम देशको कुल ५१९ भन्दा बढी स्थानीय तहमा रहेका बैंक तथा वित्तीय संस्थाका ऋणीसम्म पुगेको गभर्नर अधिकारीको दाबी छ ।

२० जना ऋणीले पाए व्यावसायिक निरन्तरता कर्जा

राष्ट्र बैंकका अनुसार हालसम्म व्यावसायिक निरन्तरता कर्जा प्रवाह भने पाँचओटा वाणिज्य बैंकमार्फत २० जना ऋणीलाई रू. २० करोड ८७ लाख प्रदान गरिएको छ । यस्तै, शीतघर तथा खाद्यान्न भण्डारण घर स्थापना कार्यक्रमका लागि ब्याज अनुदान मापदण्ड, २०७३ मा भएको व्यवस्था बमोजिम हालसम्म विभिन्न ११ शीतघर तथा खाद्यान्न भण्डारणलाई रू. २४ करोड ३६ लाख ब्याज अनुदान प्रदान गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्