नुवाकोट र रसुवामा २४ घण्टादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या
नुवाकोट,बैशाख-१३ । नुवाकोट र रसुवामा २४ घण्टादेखि नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ। विषेशगरी नुवाकोट जिल्लाको सुदुरपुर्वी क्षेत्र तथा रसुवाको उत्तरी क्षेत्रमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको हो । आइतबार मध्याह्नदेखि नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइलको नेटवर्कमा समस्या उत्पन्न भएपछि कोरोना महामारीको समयमा यस क्षेत्रका सर्वसाधारण मारमा परेका छन।
‘मोबाइलमा नेटवर्क पुरा देखिन्छ,देखिएको नेटवर्कले काम गर्दैन। यद्यपि टेलिकमले २४ घण्टा बितिसक्दा पनि यसप्रति कुनै चासो नदिएको स्थानीय राजनीतिकर्मी समेत रहेका टीकाप्रसाद कडेलले साझापथसग गुनासो गरे।अहिले नुवाकोट जिल्लाको सदरमुकाम तथा पुर्वी क्षेत्रसहित रसुवाको विभिन्न क्षेत्रमा यसप्रकारको समस्या देखिएको स्थानीय बताउँछन्।
यता जिल्लास्थित दुरसंचार कार्यलयका कर्मचारी भने यस विषयमा अनभिज्ञता प्रकट गर्छन् भने टेलिकमको सम्पर्क नम्बरमा समेत फोन लाग्न छाडेपछि स्थानीयको गुनासो गर्ने माध्यम नै बन्द भएको छ।
टेलिकम नुवाकोटले भने हावाहुरीका कारण सुर्यचौर र ककनी टावरमा आवश्यक विद्युत आपूर्ति हुन नसक्दा नेटवर्कमा समस्या भएको हुनसक्ने प्रतिक्रिया दिए । यथासिघ्र समस्याको समाधान हुने उनीहरुले बताउदै आएका छन् ।