भटमासको प्रशोधित तेल निकासी ३ गुणा बढ्यो
वीरगञ्ज, बैशाख १० । वीरगञ्ज नाकाबाट भटमासको प्रशोधित तेलको निर्यात उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्ष (आव) २०७७र७८ को पहिलो ९ महीनामा १ लाख १९ हजार २०० मेट्रिकटन (मेट) भटमासको प्रशोधित तेल निकासी भएको छ ।
बारा र पर्साका तेल उत्पादकले चालू वर्षको साउनदेखि चैतसम्ममा भारततर्फ निकासी गरेको यो परिमाण अघिल्लो आव २०७६र७७ को समीक्षा अवधिभन्दा ३ गुणा बढी हो । गतवर्ष चैत महीनासम्ममा यो नाकाबाट ३८ हजार ३६ मेट यस्तो तेल निकासी गरेका थिए ।
अघिल्लो वर्षसम्म पाम आयल निकासी गरिरहेका उद्योगी अहिले भटमासको तेलमा केन्द्रित भएका हुन् । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योगीले भटमास र सूर्यमुखी तेल निर्यात बढाएको भन्सारको तथ्यांकले देखाउँछ । स्वदेशी तेल उत्पादकले तेस्रो मुलुकबाट अर्धप्रशोधित तेल भित्र्याएर प्रशोधन गरेर भारततर्फ निकासी गर्दै आएका छन् । नेपालबाट निकासी हुने वस्तुको मुख्य सूचीको अग्रस्थानमा भटमासको तेल छ । वीरगञ्ज भन्सारबाट मात्रै चालू आवको ९ महीनामा करीब १९ अर्ब २५ करोड रुपैयाँ बराबर मूल्यको भटमास तेल निर्यात भएको देखिन्छ ।
सूर्यमुखीको तेल निकासी पनि ५ गुणा बढेको छ । उद्योगीले यो नाकाबाट वर्षको पहिलो ९ महीनामा ६ हजार ६४० मेट सूर्यमुखी तेल भारततर्फ पठाएका छन् । यो परिमाण भटमासको तेलको तुलनामा कम भए पनि अघिल्लो वर्ष निकासी भएको सूर्यमुखी तेलभन्दा ५७ गुणा बढी हो । अघिल्लो वर्षको समीक्षा अवधिमा ११६ मेट सूर्यमुखी तेल भारत निकासी भएको थियो ।
बितेको चैतमा मात्रै यो नाकाबाट भटमासको तेल १८ हजार ३१२ मेट निकासी भएको छ । यो परिमाण अघिल्लो आवको समीक्षा महीनाको तुलनामा २० गुणा बढी हो । गतवर्ष चैतसम्ममा यो नाकाबाट ८९८ मेट भटमासको प्रशोधित तेल निकासी भएको थियो । सूर्यमुखीको तेल निकासी पनि १८ गुणा बढेको देखिन्छ । आर्थिक अभियान दैनिकबाट