धरहरामा ३३० किलोको गजुर, गजुरमा ९५ तोला तीन लाल सुन
काठमाडौं, बैशाख ९। पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक वाचनसहित बुधबार बिहान ८ः ०० बजेको शुभ साइतमा गजुर राखिएको हो ।
उक्त गजुर ३३० किलोको छ। गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए । उनले भने धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला तीन लाल सुन छ ।
गजुरसँगै धरहराको २२औं तलामा पुरानै शिवलिंग विशेष पूजा गरेर स्थापना गरिएको छ । पुनर्निर्माण कार्य जारी नयाँ धरहराको प्रधानमन्त्री केपी शर्मा ओलीबाट आगामी ११ वैशाखमा उद्घाटन हुँदै छ ।
भत्किएको धरहरा संरचना करिब तयार भए पनि पार्किङ र बगैंचातर्फको काम भने सकिएको छैन । भूकम्प गएको दिनभन्दा एक दिनअघि ११ वैशाखमा धरहरा उद्घाटन गरिए पनि सर्वसाधारणले चढ्न भने अझै लामै समय कुर्नुपर्नेछ ।
कोरोना तथा लकडाउनलगायत कारण धरहरा निर्माण सम्पन्न हुने समय आगामी २५ डिसेम्बरसम्म थप गरिएको छ । त्यो समयभित्र निर्माण सम्पन्न हुने हो भने पनि सबै दृश्य अवलोकन गर्न सर्वसाधारणले अझै आठ महिना प्रतीक्षा गर्नुपर्ने देखिएको छ ।
यो समाचार राजाधानी दैनिकमा प्रकाशित छ।