रेल सञ्चालनको तयारी अन्तिम चरणमा



१०० कर्मचारीलाई तालीम दिइँदै

काठमाडौं,वैशाख ८। विगत ७ महीनादेखि पार्किङमा रहेका रेल सञ्चालन गर्न तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले बताएको छ । वैशाख महीनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारी भएको  कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए ।

रेल सञ्चालनका लागि पुराना तथा अवकाश पाइसकेका र हाल कार्यरत कर्मचारीलाई कम्पनीले तालीम दिने भएको छ । १०० जना त्यस्ता कर्मचारी तथा प्राविधिकलाई तालीम दिन लागिएको महाप्रबन्धक भट्टराईले बताए । बुधवारदेखि रेल सञ्चालनको सेफ्टी वर्गका कर्मचारीलाई तालीम दिइने उनले जानकारी दिए । उनका अनुसार तालीम दिन भारतको कोंकण रेल्वे कर्पाेरेशनका अधिकारी जनकपुर आइसकेका छन् ।

लोकसेवा आयोगले निकाल्ने भर्ना प्रक्रिया रद्द भएपछि कम्पनीले नै कर्मचारी तथा प्राविधिकको व्यवस्थापन गर्न लागेको हो । असोज १ गते जनकपुरमा आएका दुई रेल सञ्चालनका लागि कम्पनीले त्यसअघि भदौ अन्तिम साता १२९ जना कर्मचारीलाई करारमा नियुक्त गर्न विज्ञापन खुलाएको थियो ।

महाप्रबन्धक भट्टराईका अनुसार तालीम २ हप्तासम्म चल्नेछ । रेल सञ्चालनका लागि पटक–पटक मिति सारिँदै आएको छ ।

कम्पनी वैशाख महीनाभित्र रेल सञ्चालनको तयारीमा रहेको भट्टराईले बताए । यद्यपि अहिले पुनः कोरोना संक्रमण बढ्दो क्रममा रहेकाले अन्योल भने कायमै छ । ‘कोरोनाका कारण विलम्ब होला कि भन्ने हो, तर सञ्चालनका लागि तयारी अन्तिम चरणमा पुगेको छ,’ उनले भने ।

नेपालले भारतीय कोंकण रेलवे कर्पाेरेशन कम्पनीसँग भन्सारबाहेक ८५ करोड ६५ लाखमा पाँचओटा डिब्बासहितका दुई सेट रेल किनेको छ ।

भारत सरकारको सहयोगमा निर्माणाधीन जयनगर–जनकपुर–बर्दिवास रेलमार्ग ६९ किलोमिटर छ । त्यसमध्ये पहिलो चरणमा जयनगर–जनकपुर ३४ किमी खण्डमा रेल चल्नेछ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्