कच्चा पदार्थको अभावमा बोरा उद्योगको उत्पादन घट्यो



काठमाडौं,वैशाख ६ । विभिन्न मुलुकहरूमा कोरोना महामारीको दोस्रो लहर फैलिँदै गएपछि बोरा उत्पादन गर्ने उद्योगहरूले कच्चा पदार्थको अभाव भोग्नु परिरहेको छ । कच्चा पदार्थको अभावका कारण यति बेला ती उद्योगको उत्पादन क्षमतासमेत घटिरहेको छ ।

नेपालमा प्लास्टिक, जुट र कपडाका बोरा उत्पादन गर्ने दुई दर्जन जति उद्योग छन् । ती उद्योगहरूले खाद्यान्नदेखि सिमेन्ट उद्योगहरूलाई बोरा उपलब्ध गराउने काम गर्दछन् । यति बेला ती सबै उद्योगले कच्चा पदार्थको अभाव बेर्होनु परिरहेको छ जसले गर्दा सबैजसो उद्योगहरूको उत्पादन क्षमतामा करीब ५० प्रतिशतले कमी आएको छ ।

विराटनगरको पशुपति सिल प्याक उद्योगका प्रोपाइटर सुदीप जैसवालले आफ्नो उद्योगमा बोरा उत्पादन गर्न आवश्यक पर्ने पोलिप्रोप्लिन नामक मुख्य कच्चा पदार्थको अभाव रहेकाले २ महीनादेखि बोरा उत्पादनमा समस्या भइरहेको बताए । नेपालमा यस्ता कच्चा पदार्थ साउदी अरब, मलेशिया र भारतलगायत देशहरूबाट आयात हुने गर्छ । ती देशमा पछिल्लो समय कोरोना संक्रमणको दर बढ्दै गएका कारण कच्चा पदार्थ आयातमा समस्या भइरहेको उनी बताउँछन् । ‘पहिलो कुरा त कच्चा पदार्थ नै पाउन समस्या छ पाइहालेमा पनि जहाजको ढिलाइका कारण नेपालमसम्म आइपुग्न महीनौं दिन लाग्ने गर्छ,’ उनले भने ।

कच्चा पदार्थको अभावसँगै आयात प्रक्रिया लम्बिएका कारण बोराको उत्पादन लागतमा वृद्धि हुन गई मूल्यसमेत बढेको छ । गतवर्षको भन्दा यस वर्ष उत्पादन लागत २५ प्रतिशतसम्म बढेको छ ।

यस कारण यसअघि सामान्य अवस्थामा सिमेन्ट राख्ने एउटा बोराको मूल्य भ्याटसहित १३ रुपैयाँ पर्ने गरेकोमा अहिले १९ रुपैयाँसम्म पर्न थालेको उद्योगीहरू बताउँछन् । उत्पादन क्षमतामा कमी आएपछि अहिले यस्ता उद्योगहरूमा काम गर्दै आएका करीब ३० प्रतिशत कामदारहरूले रोजगारी गुमाइसकेका छन् ।

शिवम् प्लास्टिक उद्योगका प्रोप्राइटर निखिल तोदीका अनुसार नेपाली बोरा उद्योगहरूले मासिक ५ हजार मेट्रिकटन बोरा उत्पादन गर्ने गर्छन् । त्यसमध्ये ४० प्रतिशत बोरा नेपालको आन्तरिक बजारमा खपत हुन्छ भने बाँकी ६० प्रतिशत बोरा भारतलगायत अन्य देशहरूमा निर्यात हुने गर्छ ।

उत्पादन क्षमता घटेपछि अहिले निर्यात यी उद्योगहरूको निर्यात बजार पनि अस्तव्यस्त जस्तै बनेको छ । साथै उत्पादन घटेपछि अहिले चामल, दाल, मैदा, र सिमेन्ट उद्योगहरूमा समेत बोरा उपलब्ध गराउन समस्या भइरहेको उद्योगीहरूले बताएका छन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्