आइतवारदेखि १४ करोड लिटर मेलम्चीको पानी



३३० स्थानमा चुहावट, १८६ स्थानमा मर्मत

काठमाडौ,वैशाख ६ । काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण शुरू भएसँगै मेलम्चीको पानी आउने परिमाणमा पनि वृद्धि भएको छ । आइतवारदेखि काठमाडौं उपत्यकामा दैनिक १४ करोड लिटर आउन थलेको छ । शनिवारसम्म भने साढे ८ करोड लिटर पानी आइरहेको थियो ।

दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा वितरण गर्ने तयारीको नजिक पुगिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मिलनकुमार शाक्यले जानकारी दिए । ‘आइतवारदेखि सुन्दरीजलबाट थप पानी छाडिएको र उपत्यकाका सातओटा पोखरीहरूमा पानी थपिएको छ,’ शाक्यले भने, ‘बाँकी तीनओटा पोखरीमा पनि पानी राख्ने क्रम शुरू गरिने र थप ३ करोड लिटर पानी पनि छिटै आउनेछ । त्यसपछि कीर्तिपुर, भक्तपुरको कटुन्जे र ठिमीमा पनि पानी राखेर वितरण गरिनेछ ।’

काठमाडौं उपत्यकामा चैत १५ गतेदेखि मेलम्चीको खानेपानी औपचारिक रूपमा आउन थालेसँगै वितरण पनि शुरू भइसकेको छ । अहिले महांकालचौर, अनामनगर, मीनभवन, खुमलटार, महाराजगञ्ज, बालाजु, बाँसबारी क्षेत्रका पोखरीहरूबाट पानी वितरण भइरहेको छ । मेलम्चीको खानेपानी काठमाडौंमा आएसँगै पुरानै पाइपलाइनबाट पानी वितरण हुँदा हालसम्म ३३० स्थानमा पानी चुहावटको समस्या देखिएको छ । दशकदेखि पुराना पाइपबाट पानी वितरण गरिएको छ । पानीको प्रवाह बढी भएपछि मुख्य सडक तथा भित्री सडकहरूमा अधिक चुहावट देखिएको छ । शाक्यले हालसम्म चुहावट देखिएका ती स्थानमध्ये १८६ स्थानमा मर्मतसम्भार गरिसकेको बताए ।

भित्री सडक तथा गल्लीहरूमा मर्मतसम्भार गरिएको र अहिले मुख्य सडकहरूमा पनि मर्मतसम्भार गर्न सडक विभागले स्वीकृति दिइसकेको उनले बताए । अब छिटै मर्मतसम्भारको काम हुने उनको भनाइ छ ।

४० वर्षदेखिका पुराना पाइपबाट पानी वितरण हुँदा चुहावट देखिनु मर्मतका लागि अवसर भएको बताउँदै आएको कम्पनीले सडक विभागको सहकार्य पनि सकारात्मक रूपमा पाएको बताएको छ । कम्पनीलाई पानी चुहावट हुने सडकहरूमा मर्मतसम्भार गर्न र चुहावट नियन्त्रण गर्ने कार्य अघि बढाउन सडक विभागको स्वीकृति चाहिन्छ । त्यसपछि मात्रै कम्पनीले मर्मतसम्भार तथा चुहावट नियन्त्रण गर्न सक्ने उनको भनाइ छ । मेलम्चीको पानी आउनुभन्दा पहिला दैनिक ८ करोड लिटर पानी वितरण गर्दा चुहावट हुने स्थानको पहिचान हुन नसक्दा मर्मतसम्भारको कार्य गर्न नसकिएको कम्पनीको भनाइ छ । अहिले भने विभिन्न स्थानमा देखिएको चुहावटलाई न्यून गर्न निर्माण कम्पनी तथा कम्पनीका विभिन्न शाखाका अधिकारीहरू खटेको शाक्यले दाबी गरे ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्