गुल्मीमा ट्राफिक कारवाहीमा ४४ लाख राजस्व संकलन



गुल्मी,वैशाख ५ । जिल्लामा पछिल्लो ९ महिनामा सवारी कारवाहीबाट ४४ लाख राजस्व संकलन भएको छ । आर्थिक बर्ष ०७७ को साउनदेखी चैत्रमहिनासम्म ९ महिनाको अवधिमा कुल ४३ लाख ८८ हजार पाचँ सय रुपैँया राजस्व संकलन भएको छ ।

यो अवधिमा कुल ६ हजार ७५० सवारी कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले जानकारी बताए । ट्राफिक प्रहरीको सक्रियताका कारण सवारी कारवाहीबाट हुने राजस्व संकलन दरमा बृद्धि भएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले विभिन्न ठाउँमा पुगेर चेकजाँच गर्ने गरेका कारण राजस्व दरमा बृद्धि भएको हो । चैत महिनामा संकलन गरिएको राजस्व जिल्लामा ट्राफिक कार्यालय हालसम्मकै उच्च रहेको कार्यालय प्रमुख आचार्यले दाबी गरे ।

साउनमा ४५० सवारीबाट २ लाख ७२ हजार पाचँ सय, भदौमा ४५० सवारी कारवाहीबाट दुई लाख ७९ हजार, असौजमा ६ सय सवारी कारवाहीबाट ४ लाख २३ हजार ५ सय राजस्व संकलन भएको छ । कात्तिकमा ७५० सवारीबाट पाचँ लाख १२ हजार, मंसिरमा ८ सय सवारीबाट ५ लाख ७० हजार, पुसमा ९ सय सवारी कारवाहीबाट ५ लाख ६४ हजार पाचँ सय, माघमा ९ सय सवारी कारवाहीबाट ५ लाख ७४ हजार, फागुनमा ९५० सवारी कारवाहीबाट ५ लाख ९५ हजार ५ सय तथा चैतमा ९५० सवारी कारवाहीबाट ५लाख ९५ हजार राजस्व संकलन गरिएको ट्राफिक प्रहरी प्रमुख आचार्यले जानकारी दिए ।

गत आर्थिक बर्ष ०७६÷७७ मा कुल ५ हजार ८७ सवारी कारवाहीबाट ३१ लाख ८९ हजार राजस्व संकलन भएको थियो । गत आर्थिक बर्षको भन्दा यस बर्षको ३ महिना अगावै १२ लाखभन्दा बढी राजस्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्