महासंघका लगानीकर्तासँग आबद्ध हुन स्टार्टअपले आवेदन दिन सक्ने



काठमाडौं,वैशाख ५ । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले मेन्टरशिप सहयोग सहित महासंघका लगानीकर्तासँग आबद्ध हुन इच्छुक स्टार्टअपहरूबाट आवेदन माग गरेको छ । आवेदन सबै क्षेत्र (कृषि, उत्पादनमूलक, सूचना प्रविधि, सेवा)का लागि खुला गरिएको छ ।

समितिले चैत ९ गते एक कार्यक्रम गरी उक्त विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसँग आबद्ध रहेका लगानीकर्ताको व्यावसायिक अभिरुचिलाई उद्यमीहरूको व्यवसायसँग मिलान गरी सहकार्यका लागि समितिले सहजीकरण गर्ने बताइएको छ । नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यावसायिक मोडेलको स्थापना/स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायका लागि आवेदन आह्वान गरिएको जानकारी समितिले दिएको छ ।

समितिका अनुसार एक वर्षभन्दा बढी समयदेखि सञ्चालनमा आएका र कम्तीमा पनि एक वर्षको लेखा परीक्षण प्रतिवेदन भएका, कानूनी रूपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिनेछन् । ‘आफ्नो व्यवसायमा शीप, ज्ञानको आधार र दृढ प्रतिबद्धता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन्,’ समितिद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोसिएशन, आर्टिकल अफ एशोसिएशन, रजिष्ट्रेशन, प्यान/भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्र, कम्पनीको सञ्चालक समितिको माइन्युट, कम्पनीका प्रवर्द्धक/संस्थापकहरूको बायोडाटा लगायत आवश्यक दस्तावेज समेत संलग्न हुनुपर्ने उल्लेख छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्