वीरगञ्ज नाकाबाट वैदेशिक व्यापार : आयात ८ प्रतिशतले बढ्दा निर्यातमा २५ प्रतिशत वृद्धि



वीरगञ्ज,वैशाख ५ । वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष (आव) २०७७/७८ को ९ महीनामा आयात ८ प्रतिशतले बढ्दा निर्यात व्यापारमा करीब २५ प्रतिशतले वृद्धि भएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आवको साउनदेखि चैतसम्ममा ३ खर्ब ६३ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । यो गत आव २०७६/७७ को समीक्षा अवधिमा आयातित वस्तुको मूल्यको तुलनामा २७ अर्ब रुपैयाँले बढी हो ।

गत आवको चैत मसान्तसम्ममा यो भन्सारबाट ३ खर्ब ३६ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको वीरगञ्ज भन्सारका सूचना अधिकृत सुमित गुप्ताले जानकारी दिए । यो वर्ष वीरगञ्ज नाकाबाट मुख्यतः इन्धन, सवारी साधन, औद्योगिक कच्चा पदार्थ, सवारीसाधनका पाटपूर्जा, ब्याट्रीलगायत वस्तु भित्रिएको भन्सारको तथ्यांकले देखाउँछ ।

निर्याततर्फ भटमास र सूर्यमुखीको प्रशोधित तेल, जुस जाम, कपडा, जुत्ता, दन्तमञ्जन, धागोजस्ता वस्तुको निर्यात भएको छ । सो अवधिमा उक्त नाकाबाट ३१ अर्ब ७६ करोड रुपैयाँबराबरको वस्तु निकासी भएको छ । स्वदेशी उद्योगले अघिल्लो वर्षको चैत मसान्तसम्म २५ अर्ब ४५ करोड रुपैयाँ बराबरको उत्पादन निर्यात गरेको भन्सारको तथ्यांक छ । यस वर्षको निकासी व्यापार गतवर्षको समीक्षा अवधिभन्दा ६ अर्ब ३१ करोड रुपैयाँले बढी हो ।

सुध्रिँदै राजस्व
उद्योग व्यवसाय कोरोना महामारीको असरबाट तंग्रिन थालेसँगै वीरगञ्जबाट आयात निर्यात कारोबार पनि बढेको छ । आवको शुरुआतमा खस्किएको व्यापार पछिल्लो समयमा सुधारिएपछि त्यसको सकारात्मक प्रभाव राजस्व असुलीमा देखिएको सूचना अधिकृत गुप्ताले बताए ।

वीरगञ्ज भन्सारले चैतसम्ममा १ खर्ब २४ अर्ब रुपैयाँ राजस्व उठाएको छ । यो लक्ष्यको तुलनामा ७ प्रतिशत बढी हो । वीरगञ्ज भन्सारलाई यो अवधिका लागि १ खर्ब १६ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य तोकिएको थियो ।

भन्सार महशुल ४७ अर्ब, मूल्यअभिवृद्धि कर ४४ अर्ब र अन्तःशुल्क १४ अर्ब रुपैयाँ उठेको छ । पूर्वाधार करतर्फ १० अर्ब र सडक सुधार तथा निर्माण दस्तुर ६ अर्ब संकलन गरेको भन्सारको तथ्यांकमा उल्लेख छ । वीरगञ्ज भन्सारले चालू आवको साउनदेखि असोजसम्म लक्ष्य भेट्टाउन सकेको थिएन । बन्दाबन्दी र निषेधाज्ञाका कारण उत्पादन र व्यापार करीब ठप्प भएकाले त्यसको प्रभाव राजस्वमा देखिएको थियो । असोजदेखि बन्दाबन्दी खुलेको थियो । त्यसयता भन्सारले लक्ष्यभन्दा बढी राजस्व उठाएको तथ्यांकले देखाएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्