कोरोनाविरुद्ध साझा सङ्कल्प



काठमाडौं, वैशाख १ । नयाँ वर्ष २०७८ को शुभारम्भसँगै स्वस्थ रहने गरी आफ्ना गतिविधि सञ्चालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसहित स्वास्थ्य सरोकारवाला निकायहरूले अपिल गरेका छन् । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण उच्च दरमा आकाशिँदै गएका बखत स्वास्थ्य मन्त्रालयले नयाँ वर्षकै दिनदेखि कडा सावधानी अपनाउन सर्वसाधारणमाझ साझा सङ्कल्प प्रस्ताव नै पठाएको छ ।

मन्त्रालयले चैत मसान्त अर्थात् ३१ गते ‘नयाँ वर्षमा मेरो सङ्कल्प’ भनेर जनचेतनामूलक प्रस्ताव सार्वजनिक गरेको हो । नयाँ वर्षमा नयाँ जोश जाँगरका साथ हुलमुलमा हिँड्नुभन्दा घरपरिवारभित्र रहेर त्यो सङ्कल्प पूरा गर्ने प्रतिबद्धता गर्न मन्त्रालयले अपिल गरेको छ ।

मेरो सङ्कल्पभित्र रहेका सङ्कल्पलाई मन्त्रालयले २०७८ वैशाख १ गतेदेखि नै विविध सावधानीलाई जोडतोडका साथ अपनाउन अनुरोध गरेको छ । जसअनुसार पहिलो सङ्कल्पमा नयाँ वर्षको शुभकामना आदानप्रदान गर्दा हात मिलाउने, जीउ जोड्ने भन्दा पनि टाढैबाट नमस्कार गर्ने संस्कारलाई जीवित बनाउन भनेको छ । विगत केही समययता भाइरस कम भएको आकलन गर्दै आममानिसले नमस्कारको संस्कार छाड्दै गएर हात मिलाउन थालेका थिए ।

त्यस्तै दोस्रो सङ्कल्पमा मास्क अनिवार्य लगाउने र बेलाबेलामा साबुनपानीले हात धुने उल्लेख छ । पछिल्लो समय मास्क नलगाउने र हात नधुने व्यवहार मानिसले गर्दै आएका छन् । तेस्रोमा नयाँ वर्षको अवसरमा आयोजित विविध कार्यक्रम तथा भीडभाडमा नजान भनिएको मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले बताए।

साथै कार्यालयमा वा सार्वजनिक स्थानमा रहँदा भौतिक दूरी कायम गर्ने, खोक्दा वा हाँछिउ गर्दा हातले हैन कुहिनाले वा रुमालले छोप्ने, आफू जोगिने र अरूलाई बचाउने जस्ता सङ्कल्प रहेका छन् ।

यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्