सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपाका लागि दौडधूप तीव्र, अलमलमा जसपा



काठमाडौं, वैशाख १ । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग समानान्तर रूपमा जसपा नेता छलफलमा भए पनि कोसँग सत्ता सहकार्य गर्ने भन्ने निर्णय अझै गर्न सकेका छैनन् ।

जसपा कार्यकारिणी समितिका सदस्य लक्ष्मणलाल कर्णले कोसँग मिलेर सरकार निर्माण गर्ने भन्ने विषयमा निर्णय गर्न अहिले आवश्यक नै नभएको बताए । सबै राजनीतिक दलसँग सरकार निर्माणका लागि छलफल भइरहेको बताउँदै उनले आवश्यक समयमा सही निर्णय पार्टीले गर्ने बताए ।

‘हाम्रा लागि सबै समान छन् । कसैसँग दोस्ती र कसैसँग दुस्मनी छैन । अहिले नै सरकार निर्माण गर्ने विषयमा निर्णय गर्ने समय भएको छैन,’ कर्णले भने, ‘हामी सबै पक्षसँग छलफल गरिरहेका छौं । हाम्रा माग सम्बोधन गर्ने पक्षसँगै हामीले सहकार्य गर्ने हो ।’

मंगलबार बस्ने भनिएको जसपा पदाधिकारी बैठक स्थगित भएको छ । जसपा वरिष्ठ नेता राजेन्द्र महतो जनकपुरधाममा पार्टी कार्यका लागि पुगेकाले बैठक बस्न नसकेको हो । महतो काठमाडौं आएपछि पदाधिकारी बैठक बस्ने कर्णले बताए ।

यसअघि बसेको जसपा पदाधिकारी बैठकले एमाले वा कांग्रेस कोसँग सत्ता सहकार्य गर्ने भन्ने विषयमा निर्णय गर्न सकेन । अहिले पनि जसपा नेता एमाले र कांग्रेस दुवै दलका नेतासँग सत्ता सहकार्यका लागि आन्तरिक छलफलमा रहेका छन् ।

जसपा स्रोतका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता महतो प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वकै सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेका छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव ओलीइतरको सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकतालगायतका मागमा जसपाभित्र विवाद छैन । तर, कसको नेतृत्वको सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र विवाद रहेको जसपा स्रोतले जनाएको छ ।

पार्टीभित्रको छलफलका क्रममा अध्यक्ष ठाकुरले आफूहरूको माग सम्बोधन गर्नमा ओली सरकार सकारात्मक रहेकाले यही सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएका छन् ।

तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारे पार्टीले निर्णय गर्ने बताइएको छ । तर, डा। भट्टराई र यादव समूहले ओली नेतृत्वको सरकारमा जानै नहुने अडान राख्दै आएका छन् ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्