अनुशासित बजेट बनाइने अर्थमन्त्रीको दाबी



काठमाडौं,बैशाख १ । अर्थमन्त्री विष्णु पौडेलले चुनावताका आफ्नो पार्टीले जारी गरेको घोषणापत्रदेखि आर्थिक पुनरुत्थानका कार्यक्रमलाई समेटेर आगामी वर्षको बजेट ल्याइने बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले मंगलवारदेखि शुरू गरेको आगामी आर्थिक वर्षको पूर्वबजेट छलफलमा उनले बजेट निर्माणका आधारभूत सिद्धान्तहरूलाई आत्मसात् गरेर सबै पक्षलाई समेटी अनुशासित बजेट ल्याउन लागिएको जानकारी दिए ।

पौडेलका अनुसार आगामी वर्षको बजेट कोरोना महामारी र यसले सृजना गरेको कठिन परिस्थितिसँग जुध्नसमेत उपयोगी हुनेछ । आर्थिक पुनरुत्थानका कार्यक्रमलाई बजेटमा विशेष जोड दिइनेछ छ भने राष्ट्रिय गौरव र ठूला आयोजनालाई बजेट सुनिश्चित गरिनेछ ।

संविधान, पार्टीको घोषणापत्र, १५औं आवधिक योजना र समृद्ध नेपाल सुखी नेपालको नारा सफल बनाउने गरी बजेट निर्माण गरिने मन्त्री पौडेलको भनाइ छ । आगामी बजेट नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति गर्न आवश्यक मापदण्ड पूरा गर्न, उत्पादन र उत्पादकत्व वृद्धि गरी आत्मनिर्भर अर्थतन्त्र बनाउनेमा समेत केन्द्रित हुनेछ ।

कोभिडको संक्रमण बढ्दै गएको सन्दर्भमा आगामी दिन अझै अनिश्चित रहेको भन्दै मन्त्री पौडेलले भने, ‘यसको सामना गर्नुको विकल्प छैन, यो वर्ष लक्ष्यअनुसार नै राजस्व संकलन हुनेछ, आगामी वर्षसमेत राजस्वको लक्ष्य वैज्ञानिक तवरबाट तय हुनेछ ।’

बजेट निर्माणमा सम्बद्ध मन्त्रालयहरू नै सम्पूर्ण रूपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने मन्त्री पौडेलले समिति बैठकमा स्पष्ट पारे । आर्थिक वर्षको अन्त्यसम्म पनि आयोजना कार्यान्वयन नहुने अवस्थाका आयोजनाका लागि बजेट विनियोजन गर्नेभन्दा पनि कार्यान्वयनमा गइसकेका र कार्यान्वयनमा जाने चरणमा रहेका आयोजनालाई आवश्यक रकम आगामी बजेटमा विनियोजन गर्न लागिएको उनको भनाइ छ ।

आयोजना कार्यान्वयनको सन्दर्भमा विगतका समस्याहरूको पुनरावृत्ति नहोस् भन्ने सन्दर्भमा मन्त्रालय सजग रहेको मन्त्री पौडेलले स्पष्ट पारे ।

मंगलबार समितिले बजेटपूर्व चालू आवको बजेट खर्चको अवस्था, राजस्व संकलन, आगामी बजेटको तयारीका सम्बन्धमा अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगसँग छलफल गरेको थियो । चालू आर्थिक वर्ष २०७७/७८ मा सरकारले ल्याएको बजेट खर्चप्रति संसदीय समितिमा सत्तारूढ दलका सांसद्हरूले असन्तुष्टि पोखे । बैठकमा सांसद सुरेन्द्र पाण्डेले बजेट खर्चमा अनुशासन मिचिएकोप्रति आक्रोश पोखे । मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रलाई केन्द्रित गरेर बजेट रकमान्तरदेखि स्रोतान्तर गर्नु गलत भएको उनको ठम्याइ थियो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्