संक्रमित सरासर घरतिर



विराटनगर, चैत ३१ । भारतमा बस्दै आएकी उदयपुरको त्रियुगा नगरपालिका–७ की ४५ वर्षीया महिला आइतबार बिहान ११ बजेतिर जोगवनी हुँदै विराटनगरको रानी नाकामा आइपुगिन्।

विराटनगर प्रवेश गर्ने क्रममा उनलाई हनहनी ज्वरो आइरहेको थियो। कोरोनासँग मिल्दोजुल्दो लक्षण पनि थियो। भारतबाट आउनेको स्वास्थ्य परीक्षण गर्न र रेकर्ड राख्न विराटनगर महानगरपालिका–१५ रानीस्थित ‘हेल्थ डेस्क’ मा खटिएका स्वास्थ्यकर्मीले महिलाको एन्टिजेन परीक्षण गरे।

नभन्दै रिपोर्ट पोजिटिभ आयो। ती महिलामा ज्वरो पनि एक सय डिग्री थियो। विश्व स्वास्थ्य संगठनका अनुसार एन्टिजेन परीक्षणको रिपोर्ट पोजिटिभ आउनु नै कोरोना संक्रमण पुष्टि हुनु हो। महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि स्वास्थ्यकर्मीले विराटनगर महानगरलाई खबर गरे। महानगरले प्रदेश १ को सामाजिक विकास मन्त्रालयलाई जानकारी गरायो। तर, मन्त्रालयले मास्क लगाउँदै सावधानी अपनाएर जानु भन्दै महिलालाई घरतिर पठाउन निर्देशन दियो।

ती महिलालाई घर पठाउनुबाहेक सीमा क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीसँग अन्य विकल्प भएन। महिला गाडी चढेर उदयपुरस्थित आफ्नो घरतिर लागिन्। त्यसपछि हल्लीखल्ली मच्चिएको छ। अन्यमा संक्रमण फैलन सक्ने भन्दै अवस्था त्रासपूर्ण बनेको छ। स्थानीय तहसँग पनि समन्वय नगरी ती महिलालाई घर पठाइएको पाइएको छ।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्