सुदूरपश्चिममा कोरोनाको नयाँ भेरियन्ट



कैलाली, चैत ३१ । डोटीको जोरायल गाउँपालिका–३ का ३० वर्षीय पुरुष भारतको पञ्जाबबाट चैत १२ गते घर फर्के। कैलालीको गौरीफन्टा नाका हुँदै आएका उनको एन्टिजेन परीक्षण गर्दा कोरोना पोजिटिभ देखियो। भारतबाटै चैत १४ गते फर्किएका डँडेलधुराको परशुराम नगरपालिका–४ का ३१ वर्षका पुरुष र कञ्चनपुरको कृष्णपुर नगरपालिका–६ का २२ वर्षका पुरुषको एन्टिजेन परीक्षण गर्दा पोजिटिभ देखियो।

नाकामा चैत १५ गतेसम्म परीक्षण गर्दा पोजिटिभ देखिएकामध्ये २० जनाको स्वाब नमुनामा तीन जनामा अर्को भेरियन्टको कोरोना भेटिएको छ। ‘प्रदेश सरकारले २० जनाको नमुनामा फरक भेरियन्टको कोरोना छ कि छैन भनेर नमुना जाँचका लागि भन्यो। हामीले २० जनाको स्वाबको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायौं’, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका कोभिड स्रोत व्यक्ति नरेन्द्रसिंह कार्कीले भने ।उनले भने, ‘त्यहाँ ३ जनामा फरक भेरियन्टको कोरोना पुष्टि भएको भन्ने खबर आएको छ।’

तर उनले कुन भेरियन्टको कोरोना हो भनेर अझै रिपोर्ट नआएको बताए। ‘भारतमा ४ भेरियन्टका कोरोना भेटिएका छन्। त्यसमा पनि यूके भेरियन्ट सबैभन्दा बढी छ। नेपालमा पनि यूके भेरियन्टको कोरोना यसअघि नै पुष्टि भइसकेको छ’, उनले भने, ‘तर, सीमा नाकाबाट फर्केका नेपालीहरूमा फरक कोरोना देखिएपछि, भेरियन्ट भने अझै थाहा हुन सकेको छैन।’

उनले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विदेश पठाएको नमुनाको रिपोर्ट भने अझै पठाइनसकेको बताए। ‘राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले रिपार्ट पठाएको छैन। केमिकल उपलब्ध भए नेपालमै पनि फरक भेरियन्टको जाँच गर्न सकिने कुरा आएको थियो। तर, ३ जनाको नमुना विदेश पठाउने तयारी गरिएको थियो’, उनले भने, ‘हामी रिपोर्ट कुरिरहेका छौं।’

सुदूरपश्चिम प्रदेश सरकारले भारतका महाराष्ट्र, पञ्जाब र नयाँदिल्लीलाई कोरोनाको हटस्पोटको श्रेणीमा राखेको छ। ती तीनै ठाउँबाट आउनेहरूको नाकामै एन्टिजेन परीक्षण भइरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्