तरकारीको मूल्यमा मनपरी



काठमाडौं,चैत ३१ । खुद्रा व्यापारीहरूले तरकारीको मूल्य मनपरी रूपमा लिन थालेका छन् । कालीमाटी र बल्खु तरकारी बजार जस्ता थोक तरकारी बजारले तोकेको मूल्यभन्दा दोब्बर बढी मूल्यमा खुद्रा व्यापारीहरूले तरकारी विक्री गरेको पाइएको छ ।

सरकारी संयन्त्रले बजार अनुगमनमा देखाएको लाचारीपनका कारण व्यापारीहरूले मनपरी रूपमा मूल्य लिने मौका पाएको सरोकारवालाहरू बताउँछन् ।

व्यापारीहरूले काउली, काँक्रो, गाजर, घिउसिमी, ब्रोकाउली, भिन्डी, गोलभेडालगायत हरियो तरकारीको मूल्यमा मनपरी मूल्य लिने गरेको पाइएको हो । कालीमाटी फलफूल तथा तरकारी बजारको मूल्यसूचीअनुसार सोमवार काउलीको मूल्य प्रतिकिलो ५० रुपैयाँ रहेको छ तर खुद्रा बजारमा भने ८० देखि ९० रुपैयाँ किलोसम्म विक्री भइरहेको छ । प्रतिकिलो ९० रुपैयाँ रहेको लोकल काँक्रोको मूल्य पनि यति बेला १ सय १० रुपैयाँसम्ममा खुद्रा व्यापारीले लिइरहेका छन् ।

१ सय रुपैयाँ प्रतिकिलो थोक मूल्य रहेको भिन्डीको मूल्य पनि खुद्रा बजारमा १ सय ५० रुपैयाँसम्म रहेको छ । ९० रुपैयाँ किलोको ब्रोकाउली १ सय ३०, ५० रुपैयाँ किलोको गाजर ८० रुपैयाँ र १ सय रुपैयाँ प्रतिकिलोको घिउसिमीको मूल्य १ सय ४० रुपैयाँसम्म रहेको छ ।

कीर्तिपुर, कलंकी, कुलेश्वर, कालीमाटी, लगनखेललगायतका खुद्रा बजारमा व्यापारीहरूले अस्वाभाविक रूपमा तरकारीको मूल्य मनपरी रूपमा लिने गरेका छन् । कालीमाटी फलफूल तथा तरकारी बजार व्यवसायी समितिका अध्यक्ष गीताप्रसाद आचार्यका अनुसार यति बेला कालीमाटीमा छिमेकी जिल्ला तथा भारतबाट तरकारीको ल्याउनमा कुनै समस्या छैन । पर्याप्त मात्रामा तरकारी भित्रिरहेको छ । त्यसैले तरकारीको मूल्य वद्धि गर्नुपर्ने अवस्था छैन तर खुद्रा बजारमा तरकारीको मूल्यमा मनपरी भइरहेको उनले बताए ।

उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले व्यापारीहरूले अहिले विनाकारण अस्वाभाविक रूपमा तरकारीको मूल्यवृद्धि गरेको विषयलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ध्यानाकर्षण गराएको बताए । सरकारी नियामक निकायले बजार अनुगमनमा तदारुकता नदेखाएका कारण पनि व्यापारीहरूले मनपरी मूल्य वृद्धिका लागि मौका पाएको उनको भनाइ छ । अबका दिनमा विभागले मात्र नभई स्थानीय सरकारले समेत बजारमा हुने गरेका अस्वाभाविक मूल्य वृद्धिमा हस्तक्षेप गर्नुपर्ने अवस्था आएको उनले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्