खचाखच आइसोलेसन



काठमाडौं, चैत ३० । कोरोना भाइरस संक्रमण पुनः बढेसँगै स्थानीय तहले आइसोलेसन ब्युँताएका छन्। कैलालीको धनगढी उपमहानगरपालिकाले जडीबुटी प्रशोधन केन्द्रको नयाँ भवनमा आइसोलेसन बनाएको छ। त्यहाँ शनिबारसम्म ३ सय ३० भन्दा संक्रमितलाई राखिएको छ।

‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कले पोजेटिभ भनी प्रमाणित गरेका नेपालीलाई हामीले आइसोलेसनमा व्यवस्थापन गरिरहेका छौं’, आइसोलेसन सेन्टरका इन्चार्ज गजेन्द्रबहादुर सिंहले भने, ‘अहिलेसम्म तीन सयभन्दा बढी आउँदै जाँदै गरेका छन्। शनिबार मात्रै आइसोलेसनमा एक सयको संख्यामा पोजेटिभहरू पुगेका छन्।’

धनगढी उपमहानगरपालिका, जिल्ला स्वास्थ्य कार्यालय, सामाजिक विकास मन्त्रालयले उक्त आइसोलेसनको व्यवस्था गरेको हो। ‘लक्षण नदेखिएका व्यक्तिलाई हामीले घरमा आइसोलसनमा बस्छु भनेपछि निजी सवारी साधनमा घर पठाइदिएका छौँ’, जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले भने, ‘आफैँ साधनको व्यवस्थापन गर्न नसक्नेलाई १० दिनसम्म बसाएर पीसीआर गरेर मात्रै सार्वजनिक यातायातमा पठाउने गरिएको छ।’

नाकामा भारतबाट फर्केका नेपालीको एन्टिजेन परीक्षण गरेर पोजेटिभ भएकाहरूलाई एम्बुलेन्समा राखेर आइसोलेसनमा ल्याउने व्यवस्था गरिएको छ। ‘सीमा क्षेत्रमा रहेको हेल्थ डेस्कमा एन्टिजेन परीक्षण गरिन्छ, त्यसपछि पोजेटिभ देखिएकाहरूलाई आइसोलेसनमा पठाइन्छ’, स्वास्थ्य कार्यालय प्रमुख धामीले भने।

स्वास्थ्यकर्मीले एन्टिजेन परीक्षणपछि पीसीआर पोजेटिभको पनि ९० प्रतिशत सम्भावना रहने बताएका छन्। एन्टिजेन परीक्षणमा पोजेटिभ देखिएकाहरूलाई १० दिनपछि पीसीआर गरेर मात्रै नेगेटिभ आएर घर पठाउने व्यवस्था गरिए पनि, सबैको हकमा त्यो लागू हुन सकेको छैन।

आफैँ घरमा आइसोलेसनमा बस्छु भन्नेलाई घर जान दिइन थालेपछि र घरमा अनुगमन गर्ने निकाय नभएकाले पनि समुदायमा संक्रमणको खतरा बढेको हो।

यो समाचार अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्