डढेलोले सखाप हुँदै वन
काठमाडौं, चैत ३० । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लाग्दा धेरै वन क्षेत्र सखाप पारेको छ । विगत केही दिनदेखि लाग्दै आएको ढडेलोले मुलुकका अधिकांश क्षेत्रमा ठूलो क्षति पुर्याएको छ तर हरेक वर्ष सचेतनाको कार्यक्रम गर्दै आएको सरकारले रोकथाम तथा नियन्त्रणमा पर्याप्त योजना ल्याउन सकेको छैन भने भएका कार्यक्रम र योजना पनि प्रभावहीन बन्दै आएका छन् ।
आइतबार दिउँसो डढेलो लागेपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल निकुञ्ज क्षेत्रमा पुग्यो । दमकलले ढडेलो नियन्त्रण गर्न कठिन भएपछि सेना र सिम्रिक एयरको हेलिकोप्टरले डढेलो नियन्त्रणको प्रयास गरेको महाराजगन्जका डीएसपी रोशन खड्काले जानकारी दिए । सैनिक मुख्यालय प्रमुख सेनानी दीपक भण्डारीका अनुसार सेनाका तीनवटा दमकल र सिम्रिक एयरका समेत गरी दुई हेलिकोप्टर डढेलो नियन्त्रणका लागि पठाइएको र डढेलो लगभग नियन्त्रणमा आएको थियो ।
मनाङका जंगलमा लागेको डढेलो अझै पूर्णनियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रूखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी र अन्नपूर्ण संरक्षण क्षेत्रको पहलमा जिल्ला प्रशासन, नेपाली सेना, सशत्र प्रहरीबल र नेपाल प्रहरीले डढेलो नियन्त्रणमा लिएका थिए । यसका लागि अग्निरेखा तयार गरी आगो आउने क्षेत्रमा आगो लगाएर आगो नियन्त्रण गरिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले आगो नियन्त्रणमा लिन जिल्लाका सम्पूर्ण संयन्त्र परिचालन गरिएको जानकारी दिए । हिमाली क्षेत्रमा बिरुवा उम्रन समय लाग्छ । उम्रिए जोगाउनै हम्मेहम्मे पर्ने जिल्लामा स्थानीयवासीले दुःख गरेर जोगाएका वनमा आगो लाग्न थालेको डेढ महिना भयो । स्थानीय खान्की नै बोकेर जंगल आगो निभाउन पसेका थिए ।
विगत केही दिनयता तापक्रम बढ्दै जाँदा पश्चिम नेपाल र मध्यतराई तथा केही पहाडी भेगमा डढेलो लागेकाले सतर्क रहन विज्ञले चेतावनी दिएका छन् । डढेलोका कारण वायुप्रदूषण पनि बढेको छ र त्यसबाट जनस्वास्थ्यमा गम्भीर प्रभाव पर्ने चेतावनी पनि दिइएको छ । यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताए । साता दिनमा एकपटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकाले जंगलनजिकैका बस्ती थप सचेत बन्नुपर्ने उनले बताए । नेपालमा सामान्यतः चैतदेखि जेठसम्म बढी आगलागी हुने गर्छ ।
यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।