पोल्ट्री क्षेत्रमा १ वर्षको नोक्सान रू. ३५ अर्ब



काठमाडौं,चैत २९ । गतवर्ष नेपालमा कोरोना महामारी शुरू भएयता १ वर्षको अवधिमा पोल्ट्री क्षेत्रमा ३५ अर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ ।

नेपाल पोल्ट्री व्यवसायी महासंघका अनुसार महामारीका कारण होटेल, रेस्टुराँ, पार्टी प्यालेसजस्ता ठूलो परिमाणमा मासु खपत हुने स्थानहरू लामो समयसम्म बन्द हुँदा खपतको मात्रा घट्न गई नोक्सानी बढेको हो ।

करीब ६ महीना लामो बन्दाबन्दीका समयमा पोल्ट्री क्षेत्रले दैनिक २१ करोड ९५ लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेकाले क्षतिको मात्रा बढेको हो । त्यस बेला नयाँ उत्पादन हुने चल्लामा दैनिक ३ करोड ४५ लाख रुपैयाँ, ब्रोइलर तयारी कुखुरामा १५ करोड रुपैयाँ, अण्डामा ३ करोड रुपैयाँ र पोल्ट्रीसम्बन्धी दानाको कच्चा पदार्थ आदिमा ५० लाख रुपैयाँको नोक्सानी हुँदै आएको थियो ।

यसरी वर्षभरिको सम्पूर्ण क्षतिको विवरण निकाल्दा करीब ३५ अर्ब रुपैयाँको हाराहारीमा क्षति भएको अनुमान गरिएको पोल्ट्री व्यवसायी महासंघका अध्यक्ष गुणचन्द्र विष्टले आर्थिक अभियान दैनिकलाई जानकारी दिए ।

उनका अनुसार ह्याचरी उद्योग संघले ६ महीना लामो बन्दाबन्दीमा दैनिक करीब ६ लाख चल्ला नष्ट गर्नुपर्‍यो । बन्दाबन्दीको अवधिभर यो क्रम चलिरह्यो । उक्त अवधिमा कुखुरापालक किसानले ४० लाख ओटा तयारी कुखुरा गाड्नु परेको थियो भने त्यत्तिकै मात्रामा अण्डा पनि कुहिएर खेर गएको थियो ।

सबैभन्दा बढी नोक्सानी बेहोर्नेमा ह्याचरी उद्योग रहेको छ भने त्यसपछि कुखुरापालक किसान र अण्डा उत्पादक किसानले बढी नोक्सानी बेहोरेका छन् । किसान सँगसँगै नोक्सानी बेर्होनेमा कोल्ड स्टोर सेन्टर र भ्याक्सीन तथा औषधि विक्रेताहरू पनि रहेका छन् ।

अहिले नोक्सानी घटेको छ तर पनि त्यस बेलाको असर भने कायमै छ । त्यति बेलाको असरका कारण अहिले चल्ला, दाना र मासुको मूल्य बढेको व्यवसायीहरू बताउँछन् । यस क्षेत्रमा भर्खरै आएका नयाँ किसानहरू त विस्थापित भए नै, लामो समयदेखि जमेर बसेका किसानसमेत त्यस बखत पलायन भएका छन् ।

नेपाली पोल्ट्री क्षेत्र अब पुरानै लयमा फर्कन अझै २ वर्षजति लाग्न सक्ने व्यवसायीहरूको अनुमान छ । नेपालको समग्र पोल्ट्री व्यवसायको कुल गार्हस्थ्य उत्पादनमा १ खर्ब ८० अर्व रुपैयाँ बराबरको योगदान रहेको छ ।आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्