बलात्कार प्रयासपछि हल्ला हुने डरले बालिकाको हत्या



मुगु, चैत २७। मृत अवस्थामा भेटिएकी नौ वर्षीया लक्ष्मी चौलागाईंको बलात्कार प्रयासपछि ‘हल्ला हुने डर’ ले हत्या गरिएको खुलासा भएको छ । बालिका श्री ग्रिलाह बालज्योति प्राथामिक विद्यालयमा कक्षा २ मा अध्ययरत थिइन् । हत्यामा संलग्न मुगु उत्तरी सोरु गाउँपालिका–८ का २० वर्षीय प्रवेश रावलले अपराध स्वीकारेसँगै यस्तो खुलासा भएको हो ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख नायब उपरीक्षक चित्रबहादुर भट्टराईका अनुसार बालिका लक्ष्मीमाथि बलात्कार प्रयास भएको थियो । त्यसक्रममा चिच्याउन थालेपछि हत्या गरिएको प्रहरी अनुसन्धानबाट देखिएको छ ।

‘बलात्कार प्रयास गरेको हुँ, लक्ष्मीले चिच्याउने र कराउने गरेकीले हल्ला हुने डरले धकेलेर लडाएँ, त्यसपछि कर्णाली नदीमा फालिदिएँ’

तारापानीको घरनजिकै खेलिरहेकी बालिका गत शनिबारदेखि बेपत्ता थिइन् । उनको शव घरबाट झन्डै ५ सय मिटर टाढा मुगु कर्णाली नदी घाटनजिक माछा मार्न गएका स्थानीयले फेला पारेका थिए ।

शवनजिकै चाउचाउका पाकेट फेला परेपछि प्रारम्भिक अनुसन्धान अघि बढ्यो । तारापानी सिप बजारमा दुई जना चाउचाउ व्यापारी भएको र शनिबार साँझ बालिकाको घरनजिक छिमेकीले चाउचाउ लिएको खुल्न आएको छ ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्