प्रविधि र लगानी ल्याएर स्वदेशमै वस्तु उत्पादनमा प्रधानमन्त्रीको जोड



काठमाडौं,चैत २७ । विदेशबाट लगानी र नयाँ प्रविधि ल्याएर नेपालमै वस्तु उत्पादन गर्नुपर्नेमा प्रधानमन्त्री केपी शर्मा ओलीले जोड दिनुभएको छ । बिहीवार नेपाल चेम्बर अफ कमर्शको ७०औं वार्षिक साधारणसभामा उहाँले विदेशबाट उत्पादित वस्तु होइन, प्रविधि र लगानी मात्र आयात गर्नुपर्ने बताउनुभएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले उद्योगी व्यवसायीलाई उत्पादन भइसकेको सामान आयात नगर्न आग्रह समेत गर्नुभयो । ‘अत्यावश्यक बाहेक अन्य वस्तु आयात गर्नुहुँदैन,’ उहाँले भन्नुभयो, ‘अन्य सामान आफै आयात गरेर विदेशमा निर्यात गर्नुपर्छ ।’ कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सरकारले नेपाल चेम्बरसहितका निजीक्षेत्रका संस्थाहरूका माग तथा चासोलाई नीति निर्माणमा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बेला बेला सरकार गलत बाटोमा हिँडिदिनाले निजीक्षेत्र समस्याग्रस्त हुन पुगेको बताए । कोभिडपछि हालसम्म पनि मुलुकको अर्थतन्त्र सन्तोषजनक अवस्थामा पुगिनसेको भन्दै उनले नीतिगत सहजीकरण गरिदिन सरकारसँग आग्रह गरे ।

कार्यक्रममा चेम्बरले व्यावसायिक क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । चेम्बरले ‘बनवारीलाल मित्तल मेमोरियल अवार्ड’ पर्यटनतर्फ सिद्धार्थ ग्रूप अफ हस्पिटालिटीका अध्यक्ष चिन्तामणि न्यौपाने, ‘जनकदास श्रेष्ठ मेमोरियल अवार्ड’ महिला उद्यमीतर्फ इन्दिरा सापकोटा, ‘राजबहादुर चिपालु मेमोरियल अवार्ड’ कृषितर्फ गोल्यान ग्रूपका अध्यक्ष पवन गोल्यानलाई प्रदान गरेको छ । यसैगरी ‘जुद्धबहादुर श्रेष्ठ मेमोरियल अवार्ड’ भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ, ‘इन्द्रभक्त मेमोरियल अवार्ड’ उद्योगतर्फ विशाल ग्रूपका अध्यक्ष जगदीश अग्रवाल र ‘ईश्वरलाल मेमोरियल अवार्ड’ पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठलाई दिइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्