घरजग्गा सम्पत्तिको धितोमै अधिक कर्जा प्रवाह



कुल कर्जाको ८७.७८ प्रतिशत सम्पत्ति धितोमा

काठमाडौं,चैत २५ । बैंक तथा वित्तीय संस्थाहरूले सबैभन्दा बढी कर्जा सम्पत्तिको धितोमा प्रवाह गरेका छन् । कुल कर्जा प्रवाहको सबैभन्दा बढी अंश स्थिर तथा चालू सम्पत्ति धितो राखेर बैंकहरूले कर्जा दिएको पाइएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को फागुनसम्ममा कुल कर्जाको ८७ दशमलव ७८ प्रतिशत अंश सम्पत्ति धितोमा प्रवाह भएको छ ।

वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत आवको ८ महीनासम्ममा प्रवाहित कुल कर्जा ३८ खर्ब ४६ अर्ब रुपैयाँमध्ये सम्पत्ति धितोमा रू. ३३ खर्ब ७६ अर्बको कर्जा प्रवाह भएको छ । गत आवको फागुनमा कुल कर्जा ३२ खर्ब १३ अर्ब प्रवाह भएको थियो । गत आवको सम्पत्ति धितोमा प्रवाह भएको कर्जाको अंश ८९ दशमलव २९ प्रतिशत थियो । अर्थात् रू. २८ खर्ब ६९ अर्बको कर्जा सम्पत्ति धितोमा प्रवाह भएको थियो । गत आवको तुलनामा चालू आवको फागुनसम्ममा यस्तो कर्जा १७ दशमलव ६७ प्रतिशत थप प्रवाह भएको छ ।

कतिपय देशहरूमा विनाधितो कर्जा प्रवाह हुने भए पनि बढी सुरक्षित हुन सम्पत्तिकै धितो लिएर कर्जा प्रवाह गर्न सहज भएको एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनील केसी बताउँछन् । ‘बढी कर्जा धितोमै दिएका छौं । अझ घरजग्गा धितो लिन सहज हुन्छ । सम्पत्तिको धितोमा समस्या नआउला भनेर हो । तर, सम्पत्तिको मूल्य घटे बैंकले गरेको भ्यालुएशनमा समस्या आउन सक्छ । यसैले अहिले सम्पत्तिको धितो मात्रै हेरेरभन्दा ऋणीले कर्जा तिर्न सक्ने क्षमता हेर्न पनि जरुरी छ,’ उनले अभियानसँग भने ।

बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा धितोको अधिक अंश ओगटेको सम्पत्तिअन्तर्गत पनि घरजग्गा, मेशिनरी तथा उपकरण, फर्निचर तथा फिक्स्चर, सवारीसाधनलगायत धितोमा कर्जा प्रवाह गर्न बैंकहरू बढी इच्छुक भएको तथ्यांकमा देखिन्छ ।

बैंकहरूले चालू सम्पत्ति धितो पनि राख्ने गरेका छन् । यसअन्तर्गत कृषि पैदावार, धानचामल, कच्चपदार्थ, अर्ध तथा पूर्ण तयारी वस्तु, कपडा, नुन, चिनी, तेललगायत वस्तु रहेका छन् ।

बैंकहरूले विभिन्न संस्थाको जमानीमा समेत कर्जा प्रवाह गर्ने गर्छन् । यसमा कुल कर्जाको ४ दशमलव १७ प्रतिशत प्रवाह गरिएको छ । कुल कर्जामा दोस्रो बढी अंश ओगटेको जमानत धितोमा १ खर्ब ६० अर्ब रुपैयाँँ बराबरको कर्जा प्रवाह भएको छ । यसअन्तर्गत सरकारी जमानी, संस्थागत जमानी, व्यक्तिगत जमानी , सामूहिक जमानी, अन्तरराष्ट्रिय श्रेणीकृत विदेशी बैंकलगायतको जमानतमा कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ । बैंकमा सुनचाँदी धितो राखेर रू. ४२ अर्ब ५७ करोड बराबरको कर्जा प्रवाह भएको राष्ट्र बैंकले बताएको छ ।

यो कुल कर्जाको १ दशमलव ११ प्रतिशत हो । गत आवको सोही अवधिमा सुनचाँदी धितोमा यस्तो कर्जा ३८ अर्ब ५८ करोड रुपैयाँँ बराबर प्रवाह भएको थियो ।

सरकारी सुरक्षणको तुलनामा गैरसरकारी सुरक्षण पत्रहरूको धितोमा बढी कर्जा प्रवाह भएको छ । ६६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कर्जा गैरसरकारी सुरक्षण पत्रहरूको धितोमा प्रवाह भएको छ । यो कुल कर्जाको १ दशमलव ७३ प्रतिशत हो ।

सरकारी ऋणपत्रहरूको धितोमा भने ६ करोड ६४ लाख रुपैयाँँ मात्र कर्जा प्रवाह भएको छ । यो कुल कर्जाको शून्य दशमलव शून्य २ प्रतिशत मात्र हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेका डिवेञ्चरले पनि गैरसरकारी संस्थाहरूको सुरक्षण पत्र धितोको अंश बढी देखिएको हो ।

बैंक तथा वित्तीय संस्थामा निश्चित अवधिका लागि तोकिएको ब्याजदरमा मुद्दती निक्षेपमा राखेका ग्राहकले रकम आवश्यकता पर्दा अवधि परिपक्व नहुँदै आफ्नै मुद्दती धितो राखेर कर्जा लिने बढेका छन् । यसरी मुद्दती रसिद धितो राखेर २४ अर्ब २ करोड ८० लाख रुपैयाँँ कर्जा प्रवाह भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूले स्वदेशी बिल, विदेशी बिल, आयात बिल, प्रतीतपत्र, निर्यात बिललगायत बिलको सुरक्षणमा अर्थात् धितोमा ४२ अर्ब ५ करोड २० लाख रुपैयाँँ कर्जा दिएका छन् । यो कुल कर्जाको १ दशमलव शून्य ९ प्रतिशत हो । गत आवको सोही अवधिमा यस्तो बिल धितोमा रू. ३४ अर्ब २७ करोड ९० लाख कर्जा प्रवाह गरेका थिए ।

यस्तै, वाणिज्य बैंकबाट विनाधितो क्रेडिट कार्डमा रू. २ अर्ब ९ करोड १० लाख बराबरको कर्जा प्रवाह भएको छ । विकास बैंक र वित्त कम्पनीले यस्तो कर्जा प्रवाह गरेका छैनन् । विनाधितो भएकाले यस्तो कर्जा अलि असुरक्षित हुने एनएमबी बैंकका सीईओ केसीको भनाइ छ ।

बैंकहरूले तोकिएको शीर्षकबाहेकका अन्य धितोमा करीब रू १ खर्ब ३१ अर्ब कर्जा प्रवाह गरेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

कुल कर्जा प्रवाहमा २७ वाणिज्य बैंकको अंश ८८ दशमलव ५९ प्रतिशत रहेको छ । अर्थात, फागुन मसान्तसम्म वाणिज्य बैंकमार्फत धितोमा ३४ खर्ब ७ अर्ब रुपैयाँँ कर्जा प्रवाह भएको छ । १९ ओटा विकास बैंकमार्फत ३ खर्ब ५७ अर्ब रुपैयाँँ कर्जा प्रवाह भएको छ । यस्तै वित्त कम्पनीले यसअवधिमा रू. ८१ अर्ब ९ करोड ९० लाख कर्जा प्रवाह गरेका छन् । यो कुल कर्जा प्रवाहको २ दशमलव ११ प्रतिशत हो ।

समग्रमा कुल कर्जा प्रवाह गत आवको फागुनको तुलनामा चालू आवको फागुनमा १९ दशमलव ७० प्रतिशतले थप वृद्धि भएको छ । यो गत आवभन्दा रू. ६ खर्ब ३२ अर्ब ८७ करोड ५० लाखले बढी हो । कोरोना महामारीबाट समग्र अर्थतन्त्रले क्षति बेहोर्नु परेका बेला पनि यत्तिको कर्जा थपलाई धेरै राम्रो मान्नुपर्ने बैंकरहरू बताउँछन् । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्