सुन्दरका थप चार विद्युतीय बस आउँदै



वैशाखदेखि नै सञ्चालनमा ल्याइने

काठमाडौं,चैत २५। काठमाडौं उपत्यकामा हाल चारओटा विद्युतीय बस सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले थप चारओटा थप्ने भएको छ । २५ ओटा विद्युतीय बस खरीदका लागि केही समयअघि चिनियाँ कम्पनी बीएकेलाई प्रस्ताव पठाइएकोमा पहिलो चरणमा चारओटा आउन लागेको सुन्दर यातायातका अध्यक्ष भेषबहादुर थापाले बताए ।

पहिलो चरणमा आउने बस वैशाखभित्रै सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी अध्यक्ष थापाले दिए । ‘चिनियाँ कम्पनीले बस नेपाल पठाउने प्रक्रिया अघि बढाइसकेको छ,’ उनले भने, ‘वैशाखदेखि नै चलाउने तयारीमा छौं ।’

कम्पनीले ट्रली बस बन्द भएको १८ वर्षपछि २०७६ भदौ अन्तिम सातादेखि काठमाडौं उपत्यकामा चारओटा विद्युतीय बस सञ्चालनमा ल्याएको थियो । त्यतिबेलै कम्पनीले एक वर्षभित्र थप २५ ओटा विद्युतीय बस चलाउने घोषणा गरे पनि कोरोना महामारीका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन । कम्पनीले प्रतिबस करसहित रू. १ करोड ७२ लाखमा खरीद गर्न लागेको जानकारी थापाले दिए । ४० सीट क्षमताका ती बस अपांतामैत्री रहेको र एकपटकको चार्जमा २६५ किलोमिटरसम्म गुड्न सक्ने उनले बताए ।

हाल कम्पनीले चक्रपथमा तीनओटा र भक्तपुर–रत्नपार्क रूटमा एउटा गरी विद्युतीय बस सञ्चालन गरिरहेको छ । केही समयअघि परीक्षणका रूपमा काभ्रेको बनेपासम्म एउटा बस चलाएको कम्पनीले नयाँ बस आएपछि उक्त रूटमा पनि सेवा विस्तार गर्ने तयारी गरेको छ । कम्पनीले त्यसबीचमा चार्जिङ स्टेशन पनि बनाउने बताएको छ । हाल सीतापाइला, चाबहिल र सुकेधारामा कम्पनीका तीनओटा चार्जिङ स्टेशन छन् ।

सरकार आफैले पनि विद्युतीय बस चलाउने तयारी गरेकोमा हालसम्म सञ्चालन गर्न सकेको छैन । २०७६ साउनमा ३०० विद्युतीय बस खरीदका लागि साझा यातायातलाई जिम्मेवारी दिएको सरकारले तीन महीनामै बस खरीद गर्न नसकेको भन्दै पैसा फिर्ता लिने निर्णय गरेको थियो । एक वर्ष होल्ड गरेर सरकारले गत माघ अन्तिम साता पुनः साझालाई नै बस खरीदको जिम्मेवारी दिने निर्णय गरेको छ । हाल बस खरीदका लागि टेन्डर निष्कासनको तयारी भइरहेको साझा यातायातका अध्यक्ष कनकमणि दीक्षितले जानकारी दिए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्