नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने



काठमाडौं,चैत २४ । नेपाल र कतारबीच पर्यटन प्रवर्द्धनका लागि सहकार्य हुने भएको छ । नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमवार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रवर्द्धन गर्न सकिने पर्याप्त सम्भावना रहेको र सहकार्यबाट पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको छ ।

बोर्डको निमन्त्रणमा आएका कतारका राजदूतले नेपाल प्रकृतिको अनुपम उपहार भएको भन्दै पूर्वाधार विकासमा थप जोड दिन सके नेपालले पर्यटनबाट आर्थिक विकास गर्न सक्ने बताए । ‘नेपाल विश्वकै सुन्दर देशमध्ये एक हो,’ उनले भने, ‘तर यातायातको उचित प्रबन्ध नभएको र महँगो हवाई भाडा कारण चाहेर पनि मानिसले नेपाललाई आफ्नो गन्तव्य बनाउन सकेका छैनन् ।’ नेपालको पर्यटन विकासका लागि नयाँ ढंगले सोच्न आवश्यक रहेको धारणा उनले राखे । साथै नेपालको पर्यटन प्रवर्द्धनमा सघाउन कतार सरकार सधैं तयार रहेको उनले बताए ।

कार्यक्रममा पर्यटन बोर्डका कार्यकारी प्रमुख रेग्मीले सरकार र निजीक्षेत्र दुवैले पर्यटन पूर्वाधार विकासमा ध्यान दिइरहेको बताए । पर्यटन बोर्डले कतारसहित मध्यपूर्वमा पर्यटन प्रवद्र्धनका नयाँ योजना अगाडि सारेको जानकारी समेत उनले दिए । कतारबाट नेपाल आउन चाहने पर्यटकको आवश्यकता अनुरूप व्यवस्थाका लागि नेपाल तयार रहेको उनको भनाइ छ । ‘नेपाल आउन चाहने पर्यटकको स्वागतका लागि नेपाल तयार छ,’ उनले भने, ‘खासगरी कतारी पर्यटकका लागि ‘हलाल’ खानाको उपलब्धता, प्रार्थना कक्ष जस्ता आवश्यक पूर्वाधारको समेत व्यवस्था भइरहेको छ ।’ नेपाल र कतारबीच सीधा हवाई सम्पर्क समेत रहेकाले पर्यटक आवागमनमा खासै समस्या नहुने भन्दै उनले त्यसका लागि बोर्डले थप पहल गर्ने बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्