भारतीयहरू क्वारेन्टाइन बस्न नेपालमा



काठमाडौं । नेपालमा भारतीय पर्यटकको संख्या बढेको देखिएको छ । तर, तिनीहरू नेपालमा भ्रमण गर्नका लागि आएका भने होइनन् । उनीहरू काठमाडौंका होटेलहरूमा क्वारेन्टाइन बस्नका लागि आएका हुन् ।

होटेल व्यवसायीहरूका अनुसार भारतीय नेपालका होटेलमा क्वारेन्टाइनमा बस्न आउने गरेका छन् । भारतीयहरू खाडी तथा अन्य मुलुकमा काम गर्न जान भारतबाट काठमाडौं आउने गरेका छन् । यहाँ क्वारेन्टाइन बसेपछि काम गर्न जाने मुलुकमा क्वारेन्टाइन बस्नु नपर्ने भएकाले भारतीयहरू काठमाडौंका होटेलमा क्वारेन्टाइन बस्न थालेका हुन् ।

होटेल एशोसिएशन नेपाल (हान)का महासचिव साजन शाक्यका अनुसार विगत केही सातादेखि दैनिक ५०० देखि ६०० सम्म भारतीय नागरिक क्वारेन्टाइन बस्नकै लागि काठमाडौंमा आउने गरेका छन् । यसले गर्दा पनि काठमाडौंका होटेलहरूको गतिविधि चलायमान बनाउन केही मात्रामा भए पनि टेवा पुगेको छ ।

‘काठमाडौंमा केही भारतीय आउन थालेका छन्,’ शाक्यले भने, ‘उनीहरू पर्यटकको रूपमा भन्दा पनि खाडी मुलुकहरूमा काम गर्न जानेहरू हुन् । काठमाडौंका होटेलहरूमा १४ दिन क्वारेन्टाइन बस्ने र त्यसपछि कामका लागि अन्य देश जाने गरेका छन् ।’ यसले होटेलहरूको अकुपेन्सीमा पनि झीनो सुधार देखिएको छ । कोरोना भाइरस र त्यसपछिको बन्दाबन्दी र निषेधाज्ञा हटेपछि हवाई उडान खुला हुँदा करीब २ देखि ३ प्रतिशतसम्म अकुपेन्सी थियो । अहिले त्यसमा झीनो सुधार हुँदै विगत २० दिनयता झन्डै ५ प्रतिशत पुगेको छ ।

मार्चमा झन्डै १५ हजार पर्यटक नेपालमा आएका छन् । नेपालको हस्पिटालिटी क्षेत्रको क्षमता २५ लाख पर्यटकलाई सेवा दिन सक्ने भएकाले अहिलेको संख्या अत्यन्त न्यून रहेको व्यवसायी बताउँछन् ।

कोरोना भाइरसको संक्रमण कम भएका बेला र खोप पनि प्रयोगमा आएपछि भने विदेशी पर्यटक आउने आकलनका बीच पुनः कोरोनाको नयाँ भेरिएन्ट देखिएपछि पर्यटन व्यवसायीहरू थप सशंकित हुन थालेका छन् ।

हानको ४७ औं वार्षिक साधारणसभामा समेत व्यवसायीहरूले कोरोनाको विशेष परिस्थिति र पर्यटक आगमनको अनिश्चितता हेर्दा तत्काल पर्यटन क्षेत्र पुनरुत्थान हुने सम्भावना नभएको बताए ।

होटेल उद्योगलाई औद्योगिक वर्गमा राख : हान

होटेल एशोसिएसन नेपाल (हान)ले मुलुकको होटेल उद्योगलाई औद्योगिक वर्गमा राख्न सरकारसँग माग गरेको छ । होटेल उद्योगलाई राज्यले गैरउद्योगमा राखेको भन्दै होटेल उद्योगलाई औद्योगिक वर्गामा समावेश गर्न हानले माग गरेको हो । यसका साथै होटेल उद्योगलाई कानूनी रूपमै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा समेत समेट्न पहल गरिएको हानकी अध्यक्ष सृजना राणाले बताइन् । उनका अनुसार राष्ट्रिय प्राथमिताप्राप्त उद्योगका रूपमा नै घोषणा गरी कानूनी रूपमै समेट्न पर्यटन ऐन–२०७७ को मस्यौदामा समेत बनाई सम्बद्ध निकायमा पठाइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्