भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा



काठमाडौं,चैत २३ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् । पश्चिमी सीमानाका गड्डाचौकी र त्रिनगर हुँदै भारतबाट नेपाल भित्रिने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा गत शुक्रबार २४ जनाको नतिजा पोजेटिभ आएको थियो । अहिले भारत प्रवेश गरेकाहरू नेपाल फर्किने क्रम बढेको छ । नेपाल सरकारले भने कोरोना संक्रमण रोकथाममा प्रभावकारी कदम चाल्न सकेको छैन ।

आगामी २५ चैतदेखि चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट प्राप्त खोप आगामी बुधबारदेखि लगाउने योजना बनाएको हो । चीन सरकारबाट प्राप्त खोप काठमाडौंका तोकिएका अस्पतालमा दिने व्यवस्था मिलाइएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार अत्यावश्यक सेवामा संलग्न व्यक्ति, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, चीनमा अध्ययनका लागि जाने तयारीमा रहेका व्यक्तिहरूलाई खोप लगाइनेछ । चीनले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको ‘सिनोफार्म’ खोपको ८ लाख डोज गत १६ चैत्रमा काठमाडौं आइपुगेको थियो । औषधि व्यवस्था विभागले सो खोपलाई ४ फागुनमा आपतकालीन प्रयोगको अनुमति दिएको थियो ।

यसअघि, नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो । नेपालले १४ माघदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई ७ वैशाखदेखि दोस्रो मात्रा उपलब्ध गराउने स्वास्थ्य मन्त्रालयको तयारी छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १७ लाख ९० हजार १ सय २५ जनालाई पहिलो मात्राको खोप उपलब्ध गराइसकिएको बताइएको छ।

यो समाचार राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्