चिनियाँ खोप बुधवारदेखि



काठमाडौं,चैत २३ । सरकारले चीनबाट अनुदानमा प्राप्त कोरोनाविरुद्धको खोप बुधवारदेखि लगाउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अघिल्लो सोमवार नेपाल आइपुगेको कोरोनाविरूद्धको ‘भेरासेल’ नामक खोप बुधवारदेखि लगाउन शुरू गरिने जानकारी दिए ।

उनले चीनमा अध्ययन गरिरहेका विद्यार्थी, जो हाल नेपालमा छन्, अध्ययनको सिलसिलामा चीन जाने तयारीमा रहेका विद्यार्थी, चीनसँग व्यापार गरिरहेका व्यवसायीलगायतलाई उक्त खोप लगाउने जानकारी दिए । चीनले गरेको कडाइका कारण कोरोनापछि चीनबाट नेपाल फर्किएका विद्यार्थी हालसम्म अध्ययनका लागि फर्किन पाएका छैनन् ।

चीनले गत माघ तेस्रो साता ३ लाख र त्यसको १ महीनापछि थप ५ लाख डोज कोरोनाविरुद्धको खोप अनुदानस्वरूप नेपाललाई दिने निर्णय गरेको थियो । तर, प्रक्रियागत ढिलाइका कारण गएको सोमवार मात्र उक्त खोप नेपाल आइपुगेको थियो ।

सरकारले गत माघ १४ गतेदेखि भारतीय अनुदानमा प्राप्त १० लाख डोज कोभिडशिल्ड खोपबाट कोरोनाविरुद्धको खोप अभियान शुरू गरेको थियो ।

त्यसपछि कोभिडशिल्ड निर्माणकर्ता कम्पनी सिरम इन्स्टिच्युटसँग आफैले २० लाख डोज खोप किनेकोमा पहिलो चरणमा आएको १० लाख खोप र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा दिएको ३ लाख ४८ हजार डोज खोप लगाइसकिएको छ । सरकारले गएको फागुन अन्तिम सातादेखि नै दोस्रो चरणको खोप लगाउने भने पनि खोप अभावका कारण दोस्रो चरणको काम रोकिएको छ । भारतले खोप उपलब्ध गराउने संकेत दिएकाले सरकारले वैशाख ७ गतेबाट पहिलो डोज लगाएकाहरूलाई दोस्रो डोज खोप लगाउने बताएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्