गोरखा बारपाकमा भिरबाट जीप खस्दा दुई जनाको मृत्यु, सात घाइते



गोरखा, चैत २२ । जिल्लाको बारपाक सलिकोट गाउँपालिका–२ स्थित राङरुङ भिरमा जीप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार बारपाक गएर फर्कँदै गरेको ना५च ३२९८ नम्बरको सो जीप शनिबार साँझ करिब ७ बजे दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी लमजुङ दूधपोखरी गाउँपालिका–२ बिचौरका ४८ वर्षीयका ठाकुर दुवाडी र ५० वर्षीय रामेश्वर न्यौपानेको मृत्यु भएको प्रहरी नायब उपरीक्षक दाहालले बताए। दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको गोरखा अस्पतालका सूचना अधिकारी कृष्ण ढकालको भनाइ छ। गम्भीर घाइते हुनेमा दूधपोखरी–२ लमजुङका ३१ वर्षीय विष्णु न्यौपाने र २८ वर्षीय अनिल मरहठ्ठा रहेका छन्। उनीहरु दुवै जनालाई थप उपचारका लागि राति नै चितवन पठाइएको उनले बताए।

दुर्घटनामा परी लमजुङ बेँशीशहर नगरपालिका–१० का २० वर्षीय सन्तोष तामाङ, दूधपोखरी गाउँपालिका–२ का १८ वर्षीय अमृत दुवाडी, ३० वर्षीय विष्णु दुवाडी, २९ वर्षीय विष्णु दुवाडी र तनहुँको व्यास नगरपालिका–१ घर भएका सुशील नराल भएको प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्