सुदूरपश्चिममा १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा



धनगढी,चैत २२। पछिल्ला तीन आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारको बजेटमा सञ्चालित आयोजनाबाट करीब १० हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । भूमिगत सिँचाइ र सतह सिँचाइ गरी २६० ओटा आयोजनामार्फत ९ हजार ८९० हेक्टर क्षेत्रफलमा सिँचाई सुविधा विस्तार भएको हो ।

यसैगरी कम्तीमा दुईओटाका दरले प्रदेशका नौओटै जिल्लामा नमूना लिफ्ट सिँचाइ आयोजनाका लागि अध्ययन एवं नक्सांकन भइरहको भौतिक पूर्वाधार विकास मन्त्रालयले बताएको छ । गत आवदेखि क्रमागत योजनाको रूपमा सञ्चालन भई चालू आवभित्रै निर्माण सम्पन्न हुनेगरी थप ५ हजार ७०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन आयोजना निर्माणलाई गति दिइएको मन्त्रालयका सचिव गणेशप्रसाद भट्टले बताए । ‘आगामी आर्थिक वर्ष २०७८/८९ सम्ममा निर्माण सम्पन्न हुनेगरी थप ६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउन योजनाहरूको बहुवर्षीय ठेक्का सम्झौता गरिसकिएको छ,’ सचिव भट्टले भने ।

प्रदेश सरकारले प्रदेश खानेपानी गुरुयोजना, प्रदेश सिँचाइ गुरुयोजना तथा प्रदेश सरसफाइ गुरुयोजना तयार गर्न अध्ययन प्रक्रिया समेत अघि बढाइसकेको छ । प्रदेश राजधानी तोकिएको क्षेत्र (गोदावरी पुलदेखि ५ किलोमिटर तल्लो तटीय क्षेत्र)मा नदी नियन्त्रणका लागि विस्तृत सम्भाव्यता अध्ययनको काम भइरहेको मन्त्रालयले बताएको छ । मन्त्रालयले हाल नदी नियन्त्रण, तटबन्ध र पहिरो नियन्त्रणको काम भएको जानकारी दिएको छ ।

गत आवदेखि निर्माण शुरू भएर चालू आवभित्रै सम्पन्न गर्नेगरी नदीको ८५ किलोमिटर क्षेत्रमा संरक्षणको काम सम्पन्न गरिएको छ । यस्तै आगामी आवमा सम्पन्न हुने क्रमागत आयोजनाबाट समेत गरी थप १ सय किलोमिटर क्षेत्रमा संरक्षणको काम सम्पन्न गरेर ४७७ हेक्टर क्षेत्रफल जमीन कटान हुनबाट रोक्नेगरी ठेक्का सम्झौता गरिएको छ ।

कैलाली र कञ्चनपुरका कान्द्रा, कटैनी, बनरा, शिवगंगा, चौधर लगायत विभिन्न नदीमा नदी नियन्त्रणको काम भइरहेको मन्त्रालयले बताएको छ । प्रदेशभित्र खानेपानी तथा सरसफाइतर्फ १९६ ओटा आयोजनाको निर्माण सम्पन्न भएको छ । यसबाट ४० हजार जनता लाभान्वित भइसकेको सचिव भट्टले बताए । उनका अनुसार हाल २५४ आयोजना निर्माणाधीन छन् । गत आर्थिक वर्षदेखि क्रमागत सञ्चालन भई चालू आवभित्रै सम्पन्न हुने खानेपानी आयोजनाबाट थप २० हजार जनता लाभान्वित हुने बताइएको छ । यस्तै बहुवर्षीय ठेक्का सम्झौता गरिएका र आगामी आवमा सम्पन्न हुने आयोजनाबाट १५ हजार बासिन्दालाई खानेपानी सुविधा पुर्याउनेगरी काम भइरहेको बताइएको छ । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्