धनगढीमा २ करोड लगानीमा खुल्दै जुस उद्योग



धनगढी,चैत २२ । धनगढीमा दुई करोड रुपैयाँ लगानी गरेर सिताज् फुड एन्ड बेभरेज इन्डस्ट्रिज नामक जुस उद्योग स्थापना गरिएको छ । कैलाली उद्योग वाणिज्य संघका पूर्वमहासचिव मोहनराज शर्माले धनगढी उपमहानगरपालिका–१ बुद्धचोकमा ग्यासरहित जुस उद्योग स्थापना गरेका हुन् ।

दैनिक ५० हजार युनिट विभिन्न साइजमा जुस उत्पादन क्षमताको आधुनिक र सुविधासम्पन्न उपकरण आयात गरी वैशाख पहिलो सातादेखि सिताज् ब्रान्डका जुस बजारमा ल्याउने गरी उद्योग निर्माण र व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको उद्योग सञ्चालक शर्माले जानकारी गराए ।यसअघि सुदूरपश्चिममै पहिलो पानी प्रशोधन उद्योग अपि ब्रान्डमा सञ्चालनमा ल्याएका उद्योगी शर्माले नेपालभर नै सिताज् ब्रान्डका जुस बिक्रीका लागि विभिन्न जिल्लामा डिलर नियुक्त गर्ने प्रक्रियासमेत सुरु भइसकेको बताए । ‘हामी वैशाख पहिलो सातादेखि लिची र म्यांगो स्वादमा गरी दुई प्रकारका जुस बजारमा ल्याउने योजनामा छौं’, सञ्चालक शर्माले भने ।

२५ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गर्ने उक्त उद्योग ग्यासरहित भएकाले यस प्रकारको उद्योग प्रदेशमै पहिलो रहेको  उनको दाबी छ । विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्ने गरी भारतको गुवाबाट कञ्चापदार्थ आयात गरी विभिन्न आकार–प्रकार र स्वादमा ग्यासरहित जुस उत्पादन गर्ने उद्देश्यसहित यस प्रकारको उद्योग सञ्चालनमा ल्याउन लागेको शर्माले बताए । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्