१६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किमी सडक बन्ने



काठमाडौं,चैत २२ । मुलुकका १६५ निर्वाचन क्षेत्रमा २ हजार २१० किलोमिटर (किमी) सडक निर्माण गरिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ३ वर्षभित्र सम्पन्न हुनेगरी सबै निर्वाचन क्षेत्रमा रणनीतिक सडक निर्माण सम्पन्न गरिने बताउनु भएको हो ।

निर्वाचन क्षेत्रमा सडक निर्माण गर्ने कार्यको शनिवार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले यो योजना नेपालमा सडक सञ्जाल विस्तारमा कोसेढुंगा हुने बताउनु भयो । कार्यक्रममा यो योजना निर्धारित समयभित्रै निर्माण सम्पन्न हुनेगरी काम अघि बढाउन पनि सम्बन्धित निकायलाई निर्देशन दिइएको छ ।

सो अवसरमा प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा सरकार गठन भएदेखि अर्थात् २०७४ फागुनदेखि २०७७ फागुनसम्म देशभर कालोपत्र र स्तरोन्नति गरी ३ हजार ५१२ (किमी) सडक निर्माण भएको जानकारी दिनुभयो । यस्तै यस अवधिमा ५२८ ओटा मोटरेबल पुल निर्माण भएको उल्लेख गरिएको छ ।

यस्तै कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सडक निर्माणका साथै भएका सडक फराकिलो पारी ६ लेनमा विस्तार भइरहेको पनि बताए । उनका अनुसार ३ हजार ३०० किलोमिटर ग्राभेल सडक र १ हजार ६८६ किलोमिटर नयाँ ट्र्याक पनि निर्माण हुँदै छ ।

पूर्वपश्चिम राजमार्गलाई चारदेखि ६ लेनसम्म विस्तार गर्न थालिएको मन्त्री नेम्वाङले बताए । संघीय सरकारले प्रतिदिन ६ दशमलव ५ किलोमिटर बाटो निर्माण गरिरहेको उनको भनाइ छ ।

आर्थिक, सामाजिक विकास, कृषि तथा औद्योगिक विकासमा टेवा दिने, राष्ट्रिय राजमार्गमा जोडिएर सडक सञ्जालको क्षमता वृद्धि गर्ने, अन्तरराष्ट्रिय सिमानासँग जोडिएका सडक, उत्तर–दक्षिण सडक सञ्जालसँग जोडिने, जिल्लाको एक निर्वाचन क्षेत्रलाई अर्को निर्वाचन क्षेत्रमा जोड्ने, निर्वाचन क्षेत्रबाट सदरमुकाम जोड्ने सडक छनोट गरिएको जानकारी दिइएको छ ।

यो समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस्